ठूला दल आफैँले जन्माएका वैकल्पिक र स्वतन्त्र शक्ति

आज ठूला दलहरुको चिन्ता, चासो र परिश्रम नवोदित वैकल्पिक राजनीतिक दल र स्वतन्त्र शक्तिहरुको तेजोवध गराउने कार्यमा नै खर्च भैरहेको देखिन्छ । जबकि यी र यस्ता शक्तिहरुको जन्म ठूला दलहरुको कारणले गर्दा नै भएको हो । नयाँले राम्रो गरेर उनीहरु उदाएका होइनन्, ठूलाले राम्रो गर्न नसकेर वा नराम्रो गरेर सांकेतिकरुपमा विकल्पहरुको उदय भएको हो । तर यो वास्तविकतालाई न नयाँले मान्न तयार छन्, न त ठूलाले स्वीकार्न गर्न नै तयार छन् ।

हामी कताकता हराइरहेका पनि छौं । नागरिकहरु सरकारलाई हाम्रो आफ्नो भन्न हिचकिचाएर कुनै पार्टीको भन्न उत्सुक भइरहेका हुन्छन् । सरकारले पनि नागरिकलाई नागरिक भन्न छाडेर कुन पार्टीको मान्छे रहेछ भनेर जनतालाई नागरिक हुन नदिई पार्टीको कार्यकर्ता बनाउन उद्यत भैरहेका हुन्छन् । तर पनि सरकार मुलुकको हुन्छ, सरकार सबैको हुन्छ, जनताले सरकारको विश्वास र भरोसा गरिरहेका हुन्छन् । सरकार गठन हुँदै गर्दा व्यक्ति कुनै पार्टीको संसदीय दलको नेता हुन सक्ला तर ती संसदीय दलका नेता जब देशको नेतृत्व गर्दै सरकार चलाउने अवस्थामा पुग्छन् तब त्यो सरकार न कुनै पार्टीको मात्र हन्छ, न कुनै गुटको पेवा । ऊ आम नागरिकको सरकार हुन्छ । जनताले पनि सरकारको गुण–दोषको आधारमा सरकारको समर्थन र सरकारप्रति गुनासो गरिरहेका हुन्छन् । सरकारले जनताको आवश्यकता र आफ्नो प्रमुख जिम्मेवारीलाई बुझेर कार्य गर्नुपर्ने हुन्छ । वर्तमान सरकार मैले पनि निर्वाचनमा विश्वास गरेर, मतदान गरेर, निर्वाचित गराएर पठाएको जनप्रतिनिधिको समर्थनमा बनेको सरकार हो । तसर्थ यो सरकार मेरो पनि हो । यो सरकारले लोकतन्त्रको सुदृढीकरणको लागि, मानवअधिकारको रक्षाको लागि, कानुनी राज र विधिको शासनको लागि जिम्मेवारीपूर्ण ढंगबाट कार्य गरोस् र नेपाल र नेपालीको भविष्य पूर्णरुपमा सुरक्षित बनोस् भन्ने कामना गरिरहेका हुन्छौं । तसर्थ सरकारको विरुद्ध हुने बेतुकका गालीगलौजले मेरो पनि मन दुख्ने गर्दछ, साथै सरकारले गर्दै गरेको बुनियादी कुराहरु र सरकारले गर्नै पर्ने जिम्मेवारीहरु सरकारको तर्फबाट पूरा गर्न नसक्दा मलाई पनि दुःख लाग्ने गर्दछ, नागरिकको हैसियतले ।

ठूला दलका नेताहरु स्वतन्त्रका रुपमा उदाएका एकाध प्रतिनिधि र नयाँ दलको रुपमा उदाएका राजनीतिक दलहरुप्रति अलि बढी आक्रामक भएको जस्तो देखिन्छ । उनीहरु स्वन्तत्र व्यक्तिको छविले कतै बहुदलीय प्रजातन्त्रमाथि नै जनताको विश्वास गुम्ने हो कि भन्ने त्रासमा देखिन्छन् । अर्कोतिर नयाँ आएका राजनीतिक शक्तिहरु कतै वैकल्पिक शक्तिको रुपमा अघि बढेर पुराना राजनीतिक दलहरुको अस्तित्व समाप्त पार्न सफल हुने त होइनन् भन्ने दुस्वप्नबाट तिलमिलाएका हुन् कि भन्ने पनि देखिन्छ ।

करिब दुई तिहाइको समर्थनमा उभिएको वर्तमान सरकारले चाहेमा जुनसुकै कार्य गर्न सक्छ । भन्ने गरिन्थ्यो, बेलायतको संसद्ले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने भन्दाबाहेक सबै कार्य गर्न सामथ्र्य राख्दछ । तर बदलिँदो अवस्थामा विज्ञानले त्यो पनि सम्भव बनाई यो सरकारलाई बेलायतको संसद्भन्दा बलियो बनाएको छ । यो सरकारले चाह्यो भने मुलुकलाई दूरगामी प्रभाव छाड्ने प्रशस्त राम्रा कार्यहरु गर्न सक्छ । समग्र विकासको मूल फुटाउन सक्छ । यो सरकारले चाह्यो भने प्रत्येक नागरिकले सच्चा न्याय प्राप्त गरेको अनुभव हुने गरी न्यायपालिकाको संरचना निर्माण गर्न सक्छ । यो सरकारले चाह्यो भने प्रत्येक युवालाई स्वदेशमा नै बसेर मुलुकको विकास गर्नुपर्दछ भन्ने भाव जगाउन सक्छ, यो सरकारले चाह्यो भने प्रत्येक नागरिकले निःशुल्क शिक्षा र स्वास्थ्यको अधिकार प्रदान गर्न सक्छ । यो सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । वास्तवमा यो सरकारले चाह्यो भने संविधानको संरक्षण गर्न सक्छ । प्रत्येक नागरिकलाई नेपालमा बसेर नेपाली हुन पाएकोमा भित्रैदेखि गर्व गर्न सक्ने वातावरण सृजना गराउन सक्छ । यी र यस्ता कार्यहरु गर्न सकेमा म मेरो सरकारप्रति गर्व गर्ने थिएँ । सरकारको प्रत्येक कार्यको गल्लीगल्लीमा गएर, छाती फुलाएर सरकारको समर्थनमा वकालत गर्न सक्ने थिएँ । त्यो मेरो समर्थनलाई कुनै पनि नेपालीले यो त सरकार वा कुनै पार्टीको पिछलग्गु हो भनेर बिल्ला लगाउने छैनन्, ठीक भनिस् हामी सबै जिम्मेवार सरकारको छत्रछायामा छौँ भनेर गर्वले छाती फुलाउने अवस्थामा हुने थियौं । तर दुःखका साथ भन्नुपर्छ, सरकार अलमल्लिरहेको छ, मेरो मन दुखिरहेको छ । सरकार असफल हुनु प्रत्येक नागरिकको असफलता पनि हो । तसर्थ हाम्रो सरकारलाई असफल हुने छुट छैन ।

विडम्बना नै भन्नुपर्दछ, सरकार एउटा स्थानीय सरकारको प्रमुखसँग पौंठेजोरी खेलिरहेको छ । कहीँ कतै खासै टीकाटिप्पणी नगर्ने आफ्नो काममा मात्र फोकस भएर जनतालाई आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरु सकेसम्म पूरा गर्दछु भनेर आफ्नै तालले अघि बढिरहेको काठमाडौं महानगरपालिकाका मेयर बालेनको फेसबुकमा यदाकदा आउने लाक्षणिक टिप्पणीहरुले सरकारको नेतृत्वलाई आफ्नो आसनमा काँडाले घोचेझैँ गरेर छटपटिनु वा तिलमिलाउनु उचित लक्षण होइन । नेतृत्व यतिसम्म कमजोर भएको सुन्दा नागरिकको उत्साहमा कमी आउनेछ । मेरो सरकार सशक्त बनिरहोस् भन्ने चाहना छ । हिजो निर्वाचनमा कुनै कारणले कुनै ठाउँमा कुनै पार्टी पराजय हुनु र स्वतन्त्रको रुपमा कुनै व्यक्तिले विजय हासिल गर्नुलाई पहाड नै खसेको जस्तो गरी कोकोहोलो मच्चाउनु पनि जिम्मेवार नेताहरुको लागि सुहाउने कुरा होइन । दलहरु अलिकति मात्र पनि सच्चिएर जिम्मेवारी ढंगबाट कार्य गर्न अघि बढ्ने हो भने आगामी निर्वाचनहरुमा जति नै राम्रो प्रभाव छाड्न सके पनि स्वतन्त्र व्यक्तिको रुपमा निर्वाचनमा लगातार विजय हासिल गर्न मुस्किल नै पर्दछ । हामी बहुदलीय प्रजातन्त्रको अभ्यासमा छौं । स्वतन्त्ररुपमा व्यक्तिले जित्नु भनेको अपवाद मात्र हो । त्यो अपवाद हिजो काठमाडौं, धरान, कैलालीमा थियो होला, भोलि ललितपुर, चितवन वा दोलखामा देखिन सक्छ होला । अपवादहरुलाई देखेर दलहरु आत्तिनुपर्ने जस्तो लाग्दैन । फेरि मुलुकको प्राथमिकता भनेको विकास हो, परिवर्तन हो, समुन्नति हो । यो उद्देश्य जुन व्यक्तिले जुनरुपमा पूरा गर्ने उद्देश्य राख्छ त्यसमा खुशी हुँदा कसैलाई हानि हुन्छ जस्तो पनि लाग्दैन ।

ठूला दलका नेताहरु स्वतन्त्रका रुपमा उदाएका एकाध प्रतिनिधि र नयाँ दलको रुपमा उदाएका राजनीतिक दलहरुप्रति अलि बढी आक्रामक भएको जस्तो देखिन्छ । उनीहरु स्वन्तत्र व्यक्तिको छविले कतै बहुदलीय प्रजातन्त्रमाथि नै जनताको विश्वास गुम्ने हो कि भन्ने त्रासमा देखिन्छन् । अर्कोतिर नयाँ आएका राजनीतिक शक्तिहरु कतै वैकल्पिक शक्तिको रुपमा अघि बढेर पुराना राजनीतिक दलहरुको अस्तित्व समाप्त पार्न सफल हुने त होइनन् भन्ने दुस्वप्नबाट तिलमिलाएका हुन् कि भन्ने पनि देखिन्छ । आज जिम्मेवार दलहरुको मिसन मुलुकको विकास कसरी गर्ने, मुलुकलाई कसरी समृद्धशाली बनाउने, कसरी जनताको मन जित्ने गरी कार्य गर्ने भन्ने विषयमा केन्द्रित हुनुभन्दा कसरी स्वतन्त्ररुपमा उदाएका जनप्रतिनिधिहरुको तेजोवध गर्ने, कसरी वैकल्पिक शक्तिको रुपमा उदाउन लागेका भनिएका दलहरुहरुलाई हतोत्साहित बनाउने भन्ने विषयमा नै बढी केन्द्रित भएको जस्तो देखिन्छ ।

आजको युग डिजिटल युग पनि हो । सामाजिक सञ्जाल विचार सम्प्रेषित गर्ने प्रमुख माध्यम बन्दै गएको छ । आज जनतालाई आफ्नो विचार पोख्न हिजोको जस्तो न्यूरोडको पीपलबोटमा गएर भाषण गर्न र दुई–चार अक्षर लेखिएका पर्चा फ्याँक्नुपर्दैन, आज हिजोको जस्तो खुल्ला मञ्चमा भेला हौं भनेर कार्यकर्ता जम्मा पारी भाषण गरेर नेता बनिरहनुपर्दैन । आज हिजोको जस्तो प्रहरीलाई ढुंगा हानेर वा अनशन बसेर जनताको दृष्टि आफूतिर तान्न कुनै परिश्रम गरिरहनुपर्दैन । आज सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर नै व्यक्तिले आफ्नो उचाइ लिन सक्छ, जनताको विश्वास जित्न सक्छ । आज नेता बन्नलाई जेल जानु पनि पर्दैन र जेल गएको थिएँ भनेर दलिल पेस पनि गर्नुपर्दैन । समयको परिवर्तनसँगै ठूला दलका ठूला नेताहरु पनि परिवर्तन हुनु आवश्यक भएको छ ।

न्यूरोड, वसन्तपुर, दरबारमार्गमा बालेनको फोटोयुक्त टिसर्ट लगाएर नेपाली युवाहरु सडकमा कसैको हाइहाइ गरे भनेर कसैले अत्तालिनु पनि पर्दैन । सदनमा जोश र जाँगरका साथ मुलुकको लागि केही गर्छौं भनेर सुकिलो ढंगले प्रस्तुत हुने नयाँ दलहरुका नवोदित नेताहरुले जोशका साथ आवाज उठाए भनेर पनि कोही आत्तिनुपर्दैन । ती पनि नेपालकै होनहार नागरिक हुन् । ती पनि नेपाली जनताको सपना साकार बनाउँछौं भन्ने प्रण बोकी उभिएका हुन्, ती पनि नेपाली जनताले मतदान गरेर निर्वाचित गरी पठाएका जनप्रतिनिधि हुन् । हामी प्रतिबद्धताअनुसार कार्य गरेर जनताको मुहारमा विश्वास जगाउन सक्षम हुनेछौं भनी ठूला दलहरुले सोचेर कार्य गर्दा कसैले अवरोध गर्दैन, बरु खुशी नै हुन्छन् ।

नेता परिवर्तन हुन सक्छ, कुनै पार्टी अगाडि–पछाडि हुन सक्ला तर जनताको सार्वभौमसत्ता परिवर्तन हुँदैन, संविधानको मूल्य–मान्यता र भावना परिवर्तन हुँदैन भनेर सोच्न सक्ने हिम्मत सबैमा हुनुपर्दछ । नयाँ अनुहार आउनासाथ हाम्रो सर्वनाश त हुने होइन भन्ने त्रास पलायो भने ती नेताहरुबाट जनतालाई थप निराश पार्ने कार्यहरु मात्र हुने गर्दछ । भर्खरै भीषण वर्षा हुनाले ठूलो धनजनको क्षति मुलुकले व्यहोर्नुप¥यो । प्राकृतिक विपत्तिलाई कसैले टारेर टार्न सक्दैन तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ, त्यसबाट उत्पत्ति भएको घाउलाई मलहम लगाउन भने अवश्य सकिन्छ । प्रत्येक पहाड–पहाडमा जथाभावी ढंगबाट बाटो खन्ने डोजर आतंक, प्रत्येक नदी–खोलाबाट अन्धाधुन्धरुपमा ढुंगा, बालुवा झिक्ने कार्य तथा अव्यवस्थितरुपमा घरहरुको निर्माण भई निकासको उचित प्रबन्ध गर्न नसक्नु र नदी किनारलाई अतिक्रमण गरी बस्ती बसाल्नु, सडक–बाटो वा अन्य संरचनाहरु निर्माण गर्नु र यस्ता कार्य हुनुहुँदैन भनी न्यायालयले बोल्दा नेतृत्व स्वयंले रोष प्रकट गर्नु पक्कै सुखद पक्ष होइनन् । ग्लोबल वार्मिङको कारण अगामी वर्षहरुमा पनि यस्ता विपत्ति दोहोरिई–दोहोरिई आउन सक्ने अवस्थाहरु सृजना भइरहेका छन् । तसर्थ त्यसप्रति बेलैमा सावधानी अपनाउनु आवश्यक भएको छ ।

भोट र नोट हेरेर होइन, जनताको मन र भावना बुझेर कार्य गर्ने हो भने कुनै पनि ठूला दलका कुनै पनि नेताप्रति नेपाली जनताले रोष प्रकट गर्ने छैनन् । परीक्षामा सहभागी नै नहुने तर नतिजामा प्रथम बनाइदिनुपर्‍यो भन्नु र लय समाउन नसकिरहेको सरकारले असाध्य राम्रो गर्दै छ भनेर विश्वास गरिदिनुपर्ने भन्ने प्रसंग एउटैझैँ भएको छ। तसर्थ सानातिना कुराहरुतर्फ ध्यान नदिई देश र जनताको लागि मात्र आगामी ३ वर्ष यो सरकारले अर्थात् यो गठबन्धनले कार्य गर्न सक्यो भने भोलि न वैकल्पिक शक्ति आवश्यक पर्छ, न अपवादमा उदाउने स्वतन्त्र शक्ति । जनतालाई मात्र राम्रो चाहिएको छ, त्यो पुरानाले गरुन् वा नयाँले गरुन्, त्यसले कुनै फरक पार्दैन ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)

Source : https://newsofnepal.com/2024/10/21/674435/