पाठक पत्र: सडक दुर्घटना बढ्नुमा दोषी को ?

नेपालमा साना–ठूला सडक दुर्घटना दैनिक भइरहेको पाइन्छ। सडक दुर्घटनका समाचार दैनिकरुपमा आउने गर्छ। कुनै नौलो कुरा भएन अब। सडक दुर्घटनामा सडकको अवस्था, ब्रेक फेललगायतका अनेकौं कारण देखाइए पनि नेपालको सडकमा हुने अधिकांश दुर्घटनाको दोषी चालक नै रहने गरेको देखिन्छ।

चालकले सवारी चलाउँदा मदिरा सेवन गर्ने, सवारी चलाएकै समयमा फोनमा कुरा गर्ने जस्ता साना–साना लापरबाहीले गर्दा कैयौं नेपालीले ज्यान गुमाउनुपरेको छ भने कैयौंले घाइते अवस्थाको पीडा खेप्नुपरेको छ । लामो यात्रामा एउटै सवारीचालक हुनु पनि दुर्घटनाको कारण हुन सक्छ।

मेसिनरी सामानमा हुने समस्याका कारण हुने दुर्घटना तथा पहिरोलगायत हुन सक्ने दुर्घटनाबाहेक सबै दुर्घटनामा चालकको लापरबाही प्रमुख कारण बन्ने गरेको छ। यसपालाका सडक दुर्घटनाहरुचाहिँ प्रायः सडकको नाजुक अवस्था सवारी चलाउने कम्पिटिसनले भएको देखिन्छ।

चालकको लापरबाहीले गर्दा भएको दुर्घटनामा परेका केही घाइते यात्रुहरु बताउँछन्– ‘चालकको हँकाइ देख्दै हामी बाँच्छौं जस्तो लागेको थिएन, हामीले त ज्यानको माया नै मारिसकेका थियौं, धन्न बाँचियो ।’

रक्तचापको घटबढ, दृष्टिको कमजोरी, मानसिक समस्याका कारणले चालकले दुर्घटना गराउने गरेको पनि सुनिँदै आएको छ। सवारी चलाउँदा चलाउँदै मूच्र्छित हुँदा, टाढाको वस्तु देख्न नसक्दा कतिपय भयानक दुर्घटना हुने गरेका छन्। अन्य कारणमा मदिराको सेवन, बस व्यवसायी तथा चालकले आफ्नो जिम्मेवारी पूरा नगर्दा पनि ठूलो क्षति हुने गरेको छ।

कैयौं यात्रुको जीवन लिएर हिँड्ने यात्रुको मूल्यवान् जीवनसँग खेलबाड गर्ने सवारीचालक र समितिलाई सरकारले कारबाही नगरेसम्म यस्ता दुर्घटना भइरहन्छन्। अनियन्त्रित तरिकाले बस चलाउने, जिम्मेवारी बहन नगर्ने चालकलाई कडाभन्दा कडा कारबाही नगरिएसम्म दुर्घटनामा कमी आउन सक्दैन। दुर्घटना कम गर्न सडकको मर्मत, सम्भार पनि उत्तिकै जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान पुग्न सक्यो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।

– शिवकुमार थापा, धादिङ ।

Source : https://newsofnepal.com/2024/10/22/674615/