पुस्तक चर्चा: सलाईबट्टे कृतिमा अनुभूतिको विद्युत् झड्का

अन्धकार हटाउन एउटा बिजुलीको बल्ब पर्याप्त हुन्छ । यो ध्रुवसत्य हामीले दैनिक जीवनमा देख्दै, भोग्दै आएका हौँ, छौँ । एउटा सानो सलाईको काँटी हाम्रो जीवनमा उपयोगी वस्तु हो तर विनाशको क्षेत्रमा पनि त्यही सानो काँटीले अर्बौंको सम्पत्ति एकैक्षणमा स्वाहा बनाएका घटना हाम्रा सामु बग्रेल्ती छन् । विकास होस् वा विनाश, सानो शिराबाटै शुरू हुने गर्छ ।

साहित्यमार्फत समाजमा चेतना फैलाउने र साहित्यको उन्नयनका लागि पनि ठूला–ठूला आकारका ठेली पुस्तकहरू लेखन, प्रकाशन र विक्रीवितरण प्रक्रियाले निरन्तरता पाएकै छ । यिनले समाजमा पुर्‍याएको योगदान सहस्र स्वीकार्य र स्तुत्य छ नै । तर सानो आकारमा प्रकाशित पुस्तक विरलै देख्न पाइन्छ । यसको अर्थ साना आकारका पुस्तक कृतिले साहित्य फाँटलाई के कति मलजल गरे भन्ने तथ्यको विवरण थोरैले मात्र राख्ने गरेको र आम पाठक र समग्र नागरिकलाई त्यसबाट जानकारी पनि न्यून रूपमै रहेको स्वीकार्न सकिन्छ ।

यसै प्रसङ्गलाई नजिकबाट नियाल्न बाध्य बनाउन हाइकुकार रत्नप्रसाद अनामणि श्रेष्ठको ‘शब्द पथमा’ हाइकुसङ्ग्रह सफल देखिन्छ । जम्मा १२८ पेजको कृतिमा भूमिकासमेत ८ पेज र अन्य १२० पेजमा प्रत्येक पेजमा एउटा/एउटा मात्र हाइकु समावेश गरिएकोले पुस्तक सलाईको बट्टा आकारको छ । हाइकु पाँच, सात र पाँच गरी जम्मा सत्र अक्षरमा संरचना गरिन्छ । पहिलो पङ्क्तिमा पाँच, दोस्रोमा सात र तेस्रोमा पुनः पाँच अक्षर हुन्छन् । समग्रमा सत्र अक्षरको संरचना हुने भएर एउटा हाइकु निकै सानो आकारको हुने गर्छ । त्यति सानो आकारको एउटा हाइकु पुस्तकको एक पेज पूरै भएबाट पुस्तकको आकार कति सानो छ भन्नेबारे स्पष्ट थाहा पाउन र सहजै अनुमान लगाउन सकिन्छ ।

यहाँ पुस्तकको आकारलाई जोड दिनुको तात्पर्य सानो वस्तुले ठूलो योगदान दिन सक्छ भन्ने तथ्यलाई अथ्र्याउनु र पुष्टि गर्नु नै हो। यो सानो पुतली आकारको पुस्तक ‘अनामणि प्रकाशन नाला, काभ्रे’ले प्रकाशन गरेको हो । पुस्तक २०७० मङ्सिरमा दोस्रो संस्करण प्रकाशन गरिएको देखिन्छ तर पहिलो संस्करणबारे कुनै जानकारी दिएको देखिँदैन । दोस्रो संस्करणमा २० हजार प्रति प्रकाशन गरिएको यो सानो तर फराकिलो सन्देश बोकेको कृतिको मूल्य जम्मा १५ रुपियाँ राखिएको छ । आकार र मूल्य सानो भए पनि मानिसको शरीरलाई अदृश्य प्राणले धानेझैँ ‘शब्द पथमा’ हाइकुसङ्ग्रहका व्यङ्ग्य हाइकु प्राणको रूपमा प्रस्तुत भएका छन् ।

मान्छेले आफ्नो भन्दा अर्काको कुरा काट्दै नकारात्मक टिप्पणी बढी गर्छन् । भन्छन् नि ‘आफ्नो आङ्को भैँसी नदेख्ने, अर्काको आङमा जुम्रा देख्ने’ तर श्रेष्ठ यसको अपवाद देखिन्छन् । उनले आफूले आफैँलाई हेर्न र कमजोरी केलाउन आग्रह गर्छन् । श्रेष्ठले हाइकुमा लेखेका छन्–
एक पटक
आफूभित्रको पर्दा
खोल्ने प्रयास

आफूभित्र सद्गुण छ कि अवगुण यसरी पर्दा खोलेरै दृष्टिगोचर गर्ने प्रयास हाइकुमार्फत गरिएको छ । हाइकुमा सौन्दर्य, भू–उपयोग, भौतिक पूर्वाधार, आधुनिक विज्ञानको साथै भ्रष्टाचार, लागूऔषधबाट पिरोलिएको समाजको चित्रण गरिएको छ । संसद्, सांसददेखि पशुपालन, माइक्रोबसको यात्रा कहर, हामी नेपालीको वुद्धिजीवीपना र अबोध बस्तीका पानीपोका कथालगायत समाजका विविध पाटाहरू सटिकरूपमा प्रस्तुत गरिएको छ । भनिन्छ, कवि पुग्ने ठाउँमा रवि पनि पुग्न सक्तैन । यही भनाइ पुष्टि हुने गरी हाइकुकार श्रेष्ठले हाम्रो समाजका हरेक पक्ष खोतलेका छन् । सानो भाँडोमा सम्पूर्ण ब्रह्माण्ड अटाउने जमर्को गरेका छन्। सर्वदलीय बैठक, सहमतिको अविरल सुगारटान तर नतिजा शून्य, कोठे बैठकदेखि हिंसापीडितको व्यथाको साथै नगरकोटको सिरेटोमा चुम्बन साटासाटको विकृति विसङ्गतिको प्रसङ्गलाई झटारो हानेका छन् ।

राष्ट्र सबैको शिरमा हुन्छ । त्यसैले होला अधिकांश सर्जकले राष्ट्रिय परिवेश र राष्ट्रिय भावनाबाट ओतप्रोत रचना सिर्जनामा विशेष ध्यान दिएको पाइन्छ । यसबाट हाइकुकार श्रेष्ठ पनि अछूतो रहेको देखिएका छैनन् । राष्ट्रिय स्वाधीनता, बुद्धको जन्म, चिकित्सा क्षेत्रमा टेस्टट्युब बेबीको सफलता, सगरमाथाको शान र पुस्तकका कुरादेखि ऋणचुक्तासम्मका परिवेश उगार्ने प्रयत्न हाइकुमा गरिएको छ । महँगी नियन्त्रण भएन, नीति निर्माताले कोरा आदर्श मात्र छाँटे भन्नेजस्ता बग्रेल्ती सामाजिक विकृतिविरूद्ध युद्ध छेड्दै नियात्राकार लेख्छन्–
कोरा आदर्श
महँगी नियन्त्रण
नीति निर्माता

हाम्रो समाज अझै सुधारकै क्रममा छ । एउटै कोखबाट जन्मिएका, एउटै आमाको दूध चुसेर हुर्किएका, एउटै आँगनमा खेलेका सहोदर दाजुभाइ पनि उमेर बढ्दै गएपछि सम्पत्तिको लागि कुकुर–बिरालो बन्छन् भन्ने प्रसङ्गलाई हाइकुकारले रोचक प्रस्तुति दिएका छन् । उनले यस प्रवृत्तिलाई बेअर्थ र लोभीपापीको खराब चाला भन्ने व्याख्या गरेका छन् । भट्टीको माडले मान्छेको भविष्यलाई कुच्चेको ताप्के बनाइदिएको प्रसङ्ग उप्काएर त्यस्ता प्रवृत्तिका मान्छेहरूलाई समयमै सुध्रन आग्रह गरेका छन् । श्रेष्ठ लेख्छन्–
दाजु र भाइ
एक–आपसमा नै
व्यर्थ झगडा
भट्टीको मोड
भविष्यलाई सोच्नु
कुच्चेको ताप्के

वि.सं. २०२६ असोज ६ गते काभ्रेको नालामा जन्मेका हाइकुकार श्रेष्ठले नेपाली विषयमा एम्ए र बीएडसम्मको अध्ययन गरेका छन् । हाइकुको साथै कविता, गजल, गीत, लघुकथा र सांस्कृतिक एवम् अनुसन्धानात्मक लेखरचनामा रूचि राख्दै लेखन प्रकाशनमा तल्लीन रहँदै आएका श्रेष्ठ नेपाली कला, संस्कृतिको जगेर्नामा पनि उत्तिकै सक्रिय छन् । पेसाले आफ्नै व्यवसायमा सक्रिय भए पनि साहित्यिक रचनाले मानवजीवन र परिवेशको वास्तविकता चर्कोरूपमा उतार्न श्रेष्ठ खप्पिस छन् । असल पक्षको सिर्जनामार्फत उजागर गर्नु र खराब पक्ष अर्थात् समाजका विकृति विसङ्गतिलाई झाँको झार्दै सुधारका पक्षलाई सिफारिस गर्नु उनको विशेषता हो ।

आफ्ना कृतिहरूमा गम्भीर प्रकृतिको भाव र सोध अनुसन्धानमूलक प्रस्तुतिमा अग्रणी भूमिकामा रहने श्रेष्ठ हाइकुसङ्ग्रह ‘शब्द पथमा’ व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएका छन् । सबै १२० वटै हाइकुमा स्वतन्त्ररूपमा प्रस्तुत भए पनि विषयवस्तु फरक–फरक र पृथक शैलीलाई जोडदाररूपमा अवलम्बन गरेका छन् । सामाजिक, धार्मिक, नैतिक, सांस्कृतिक, राजनीतिक, आर्थिकजस्ता जटिल विषयमा समेत उनले सरल, सरस र रोचक हाइकुमार्फत पाठकलाई मानसिक आनन्दको छाप छोडेका छन् । छोटा वाक्यमा पाठकलाई अनगिन्ती सन्तुष्टि प्रदान गरेका छन् । लिपिबद्ध अक्षर मुस्कुराउँदा सर्जकले समाजको मुहार उजिल्याउन सफल भएको मान्न सकिन्छ । यसले सन्तुष्टिको सास फेर्न सक्ने क्षमता सर्जकले राख्छन् ।

हाइकुकार रत्नप्रसाद अनामणि श्रेष्ठले आफ्नो क्षमता र मिहिन प्रस्तुतिका कारण ‘शब्द पथमा’ लघु हाइकुसङ्ग्रहलाई एउटा पथप्रदर्शक साहित्य रत्नको रूपमा पाठकमाझ उभ्याउन सफल भएका छन्। भूमिकाको रूपमा ‘हाइकु सौन्दर्यको नयाँ स्वाद’ शीर्षकमा चेतनाथ धमला लेख्छन्, ‘हाइकुकार श्रेष्ठका हाइकुमा नवीनतम आस्वादन गर्न पाइन्छ । उनले यस सङ्ग्रहमा चटनीका रूपमा मिठास, सरल, सहज र अर्थपूर्ण हाइकु सिर्जना गरेका छन्।

अनुभूतिको तीव्र कुत्कुताहट र प्रकृतिको सुवास मार्मिकरूपमा चित्रित गर्न हाइकुकार सफल भएका छन् ।’ हो, चेतनाथ धमलाले भनेझैँ रत्नप्रसाद हाइकु सिर्जनाका रत्न नै हुन्। समग्रमा, सामाजिक मर्म केलाउँदै हाइकुको सौन्दर्य प्रस्तुत गर्न सक्नु हाइकुकार श्रेष्ठको सफलता हो । विषयवस्तुअनुसार सिलसिला खोजिएको नभए पनि हरेक दृष्टिकोणले समस्त क्षेत्र छुन सक्नु उनको क्षमता हो । सबै १२० वटै हाइकुमा कहीँ न कतै उनले आफ्नो मौलिकता प्रस्तुत गरेका छन् ।

मानवीय सरोकार उठाएका छन्। अर्कोतर्फ साहित्यको सौन्दर्यलाई जोगाउने काम गरेका छन् । जीवनजगतको सन्दर्भलाई गम्भीर तरिकाले उठाएका छन्। यो चिटिक्कको सङ्ग्रहमा आफ्नो जीवन अनुभूतिको विद्युत् झड्का दिएका छन्। यसले मानव सभ्यता र हाम्रो समाजको सामाजिक न्याय प्रणाली र समानतालाई सही मार्गमा डोर्‍याउने एउटा गतिलो मार्गमा बलियो इँटा थप्ने काममा बल पुर्‍याउने अपेक्षा गर्न सकिन्छ। यसले नेपाली हाइकु विधा, भाषा र साहित्यमा छुट्टै प्रभाव र पहिचान पु¥याउनेछ भन्ने कुरामा दुविधा छैन। उनका रचनाले विधागत उच्चता कायम गर्दै जाऊन् र नेपाली भाषा साहित्यमा उनको योगदान चुलिँदै जाओस्, अहिलेलाई यही शुभकामना !

Source : https://newsofnepal.com/2024/10/18/673880/