प्रिन्टेड कागजमा मिठाई खाँदा क्यान्सरको खतरा

–कामपा भन्छ : मसी मिसिएको कागजमा पोका पारेको मिठाई नबेच्नुस्, कसैले नखानुस्
–५ दिनामा ८५ पसल अनुगमन
–मिठाई पसलले तयारी मिति नराखी मिठाई बेचे
–अनिवार्य मूल्य सूची, निर्माण मिति र म्याद सकिने मिति राख्न आग्रह

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले छपाइ गरेको कागजमा पोको पारिएको खानेकुरा नबेच्न आग्रह गरेको छ । चाडवाड लक्षित अनुगमन टोलीले महानगरको मिठाइ पसल अनुगमन गर्ने क्रममा सो आग्रह गरेको हो । तिहार र छठ पर्र्व लक्षित अनुगमनका क्रममा केही मिठाइ पसलले मसी मिसिएको कागजमा पोको पारेर मिठाइ बिक्री गरेको भेटेपछि मसी मिसिएको कागजमा मिठाई वा अन्य चिल्लो मिसिएको सामग्री बिक्री नगर्न आग्रह गरेको हो।

कामपा अनुगमन टोली सदस्य एवं माइक्रोबायोलोजिस्ट सञ्जोक्ता थापामगरले केही मिठाई पसलले प्रिन्टेड कागजमा मिठाई बिक्री गरेको फेला परेको बताउनुभयो । ‘त्यस्ता पसललाई मिठाई वा अन्य कुनै पनि चिल्लो मिसिएको मिठाई वा अन्य पक्वान्न बिक्री गर्दा मसी मिसिएको प्रिन्टेड कागज प्रयोग नगरी सादा कागज प्रयोग गर्न आग्रह गरेका छौं’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार मसी मिसिएको कागजमा मिठाई बिक्री गर्दा कार्सिनोजिक केमिकल हुन्छ, त्यसले टक्सिड बढाउने भएकाले मसी मिसिएको कागज प्रयोग नगर्न आग्रह गरेको छ। मसी मिसिएको कागजमा निरन्तर खानेकुरा खाँदा क्यान्सर जस्तो प्राणघातक रोग लाग्न सक्ने उहाँको भनाइ छ।

अनुगमन टोलीले पहिलोपटक अनुगमन गर्दा प्रिन्टिेड कागज प्रयोग नगर्न चेतावनी दिएको छ। दोस्रोपटक अनुगमन गर्दा पुनः कैफियत देखिए तत्काल कारबाही गर्ने तयारीमा कामपा छ। माइक्रोबायोलोजिस्ट थापामगरले सादा कागजमा मिठाई पोको पार्दा केही समस्या नहुने जानकारी दिनुभयो।

कामपाले कात्तिक १ देखि ५ गते सोमबारसम्म ८५ मिठाई र किराना पसल अनुगमन गरेको छ। अनुगमनको क्रम छठसम्म जारी रहने कृषि तथा पशुपंक्षी विभाग प्रमुख नूरनिधि न्यौपानेले बताउनुभयो। उहाँका अनुसार विभागले चाडवाडमा अनुगमनलाई तीव्र बनाएको छ । विभागको तीनवटा टोलीले दैनिक अनुगमन जारी राखेको छ। अनुगमन गर्न माइक्रोबायोलोजिस्ट, फुड टेक्नोलोजिस्टलगायतका टोली बजार पुग्नेछन्।

‘मिठाई पसल अनुगमन गर्ने क्रममा मिठाईमा प्रयोग भएको रङ हानिकारक छ वा छैन भन्ने विषयलाई विशेष ध्यान दिएको छ । इजाजत लिएको मिठाई रङ प्रयोग भए नभएको, मिठाईमा कति रङ प्रयोग गर्नेलगायतका विषयमा जानकारी लिएका छौं’ –माइक्रोबायोलोजिस्ट थापामगरले भन्नुभयो । टोलीले मिठाईमा प्रतिकिलो २ सय मिलिग्राम मात्र रङ मिसाउन आग्रह गरेको थियो।

त्यस अलावा मिठाई डिस्प्ले गर्दा मिठाईको दररेटमात्र राख्ने गरेको पाइएको छ । दररेटसँगै मिठाई बनाएको मिति पनि उल्लेख गर्न आग्रह गरेको थापामगरले बताउनुभयो । ‘पहिलोपटक अनुगमन गरेर फर्कदा सुझावमात्र दिएका छौं, दोस्रोपटक कार्यान्वयन नगरे कारबाहीका लागि अनुगमन समितिलाई सिफारिस गर्नेछौं’ –उहाँको भनाइ थियो । महानगरका अधिकांश मिठाई पसलले उत्पादन मिति उल्लेख गरेपछि समाप्ति मिति उल्लेख गरेको पाइँदैन ।

विभागले यसअघि असोज १० देखि २३ गतेसम्म २ सय ३३ किराना, मिठाई र मासु पसलको अनुगमन गरेको थियो । त्यस क्रममा म्याद गुज्रेको सामग्री छुट्ट राख्न आग्रह गरेको थियो । अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने, गुणस्तर तथा नापतौल विभागबाट इजाजत प्राप्त डिजिटल तराजु प्रयोग गर्नुपर्ने, अनिवार्य रूपमा स्थानीय तहमा व्यवसाय दर्ता भएको हुनुपर्ने लगाएको विषयमा ध्यानाकर्षण गराएको थियो ।

‘तिहार र छठमा पनि यिनै विषयलाई फोकस गर्नेछौं, त्यसबाहेक मिठाईको मूल्यसूची र निर्माण भएको मिति, मिठाई रङको प्रयोगलगायत विषयलाई उच्च निगरानीमा राखेका छौं’ –माइक्रोबायोलोजिस्ट थापामगरले बताउनुभयो। विभागले १ देखि ५ गतेसम्म कामपाको वडा १४, २२, २३ २६ र २७ वडाका ८५ किराना र मिठाई पसलमा अनुगमन गरेको जनाएको छ।

Source : https://newsofnepal.com/2024/10/23/674750/