भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते हुने

जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ । यही कार्तिक १० गते शनिबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा भूमि फाउन्डेसनको आयोजनामा भूमि लोक उत्सव हुने भएको

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलन गरी सो फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी दिए । आधुनिकतासंगै मिथिला क्षेत्रका लोक गीत, परम्परा, रितिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण प्रवर्द्धनमा महोत्सवको विशेष योगदान हुने उनले बताए । भूमि लोक उत्सवमा ख्यातिप्राप्त संगीत साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मधेश र मिथिला क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गरिने कार्यक्रम रहेको जानकारी दिए ।

गौरवमय इतिहास बोकेको मधेश तथा मिथिला क्षेत्रको सांगीतिक एवं सांस्कृतिक विर ासतलाई बृहत्त मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय कलाकारहलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको भूमि लोक उत्सवको दोस्रो संस्करण यही कार्तिक १० गते शनिबार आयोजना गर्न लागिएको संस्थापक अध्यक्ष झाले बताए । उनले राष्ट्रिय मूलधारबाट बहिष्करणमा परेका मधेश र मिथिला क्षेत्रका समृद्ध कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण र पुनरुत्थानमा सहयोग गर्ने उत्सवको मुख्य लक्ष्य रहेको बताए ।

भूमि लोक उत्सवको दोस्रो संस्करणमा छनोट गरिएका प्रस्तुतिमा नेपाल र सीमाञ्चलका सुन्दर भौगोलिक तथा सामुदायिक विविधता झल्कने अध्यक्ष झाको दाबी छ । पूर्वी पहाडका लिम्बू समुदायको संगीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद्देखि समसामयिक नेपाली आधुनिक संगीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।

अध्यक्ष झाले मधेश र मिथिला क्षेत्रको संगीत र कलाको संरक्षण एवम् पुनरुत्थान अहिलेको ठूलो आवश्यकता रहेको बताउँदै भुमि लोक उत्सवले मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण सहजीकरण गर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार स्थानीय कलाकारसँग जनकपुरधाममा प्रत्येक वर्ष एउटै मञ्चमा प्रस्तुत हुँदा यस क्षेत्रका युवा पुस्ता आफ्नो मौलिक कलाप्रति उत्साहित हुनेछन् ।” उत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसंगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ ।

The post भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते हुने appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/21/100071/