रविलाई अनुसन्धानका लागि म्याद थप्ने सम्भावना प्रवल

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन् । उनलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

गत आइतबार कास्की जिल्ला अदालतले मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । उक्त म्याद लामिछाने पक्राउ परेकै दिन शुक्रबारदेखि लागु हुँदा बुधबार सकिँदैछ ।

अब म्याद थप गर्ने-नगर्ने तथा जमानतमा रिहा गर्ने भन्ने’bout बिहीबार फेरि अदालतमा उपस्थित गराइनेछ । आफ्ना अध्यक्ष पक्राउ विरोधमा पोखरामा ४ दिनदेखि रास्वपाले आन्दोलन चर्काइरहँदा उनको म्याद फेरि थप होला वा रिहा होलान् भन्ने जिज्ञासा सबैमा छ ।

जिल्ला प्रहरीले लामिछनेलाई पक्राउ परेकै दिनदेखि कुनै न कुनै रुपमा सोधपुछ गरिरहेको जनाएको छ । अनुसन्धान अधिकारी डिएसपी वसन्तराज शर्माले अनुसन्धान कार्य जारी रहेको र बुधबार पहिलो म्याद सकिएको र बिहीबार अदालत उपस्थित गराइने बताए । डिएसपी शर्माले जिल्ला सरकारी वकिलसमक्ष लामिछानेको बयान लिने कार्य प्रारम्भ गरेको जानकारी दिए । उनको मंगलबार र बुधबार सरकारी वकिलसमक्ष बयान भएको हो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बयान लिने कार्य बल्ल प्रारम्भ भएको र अनुसन्धान नै कम्प्लिट नभएकोले म्याद थप हुन सक्ने संकेत गरिन् ।

यसअघि, पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएपछि लामिछानेलाई पनि त्यता लगिने सम्भावना छ । कास्कीका अनुसन्धान अधिकारी डिएसपी वसन्तराज शर्माले भने रुपन्देहीबाट अहिलेसम्म खबर नआएको प्रस्ट पारे ।

यसैबीच, पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष लामिछाने पक्राउ विरोधमा आन्दोलन चर्काइरहेको रास्वपाले बुधबार पनि प्रदर्शन गरेको छ । सिर्जनाचोकदेखि सुरु भएको प्रदर्शन रत्नचोक, एयरपोर्ट हुँदै बिरौटा, छोरेपाटनसम्म पुुगेर त्यहाँबाट फर्की पुनः बिरौटामा आई कोणसभामा परिणत भएको थियो ।

रास्वपाले लामिछानेको पक्राउलाई पार्टीले ‘राजनीतिक प्रतिशोध’ भनेको छ । लामिछाने पक्राउ परेसँगै उसले पोखराका फरक–फरक ठाउँमा विरोध प्रदर्शनलाई जारी राखेको छ । विरोध प्रदर्शनमा सहभागी हुन नेपालको पूर्वदेखि सुदूरपश्चिमका जिल्लाबाट पनि कार्यकर्ता पोखरा आएका छन् । कोणसभालाई पार्टीका केन्द्रीय तहका नेताहरुले सम्बोधन गर्दै केपी ओली सरकारको रवैयाका कारण निर्दोषलाई फसाइएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

गोर्खा मिडिया नेटवर्कमा पूर्व प्रबन्ध निर्देशकसमेत लामिछानेमाथि सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोप छ ।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको थियो । सोहीअनुरुप गत ६ असोजमा जोशी पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान सुरु भएको १ महिना पनि पूरा भइसकेको छ । उनलाई रुपन्देहीबाट फेरि पोखरा ल्याइएको छ ।

यसैबीच, सहकारीपीडित संघर्ष समितिले पनि रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहँदा त्यसलाई प्रभावित पार्ने गरी रास्वपाले गरेको विरोध प्रदर्शनप्रति आपत्ति जनाएको छ । संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति जनाएका हुन् । समितिले लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन बिहीबार नै मुस्ताङचोकमा प्रदर्शन गर्ने तयारी गरेको छ । रास्वपाले पनि नियमित प्रदर्शनलाई जारी राख्ने जनाएको छ ।

लामिछानेको पक्राउसँगै विरोध हुन थालेपछि शान्तिसुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि लागु हुने गरी पोखराको सहिदचोक (अदालत क्षेत्र) र गैह्रापाटन (प्रहरी कार्यालय क्षेत्र) आसपासमा अनिश्चितकालीन निषेधाज्ञा आदेश गरेको छ ।

The post रविलाई अनुसन्धानका लागि म्याद थप्ने सम्भावना प्रवल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102659/