वारी नेपाली बजार सुनसान, पारी खचाखच

वीरगन्ज । हजुरबुबा सुरज मलले १ सय ६० बर्ष अगाडी स्थापना गरेको कपडा दुकानका अहिलेका मालिक हुन् वीरगन्जका ओम प्रकाश अग्रवाल । वीरगन्जको मुख्य बजारमा उनको कपडा पसल छ । हजुर बुबापछि निरन्तर सो पसल संचालन गर्दै आउने उनी तेस्रो पुस्ता हुन् ।

कुनै समयमा बारा, पर्सा र रौतहटका लागि मात्र नभई चितवन, मकवानपुर, काठमाण्डौ र सीमापारी रक्सौलसम्मका ग्राहक आकर्षित हुने उनको कपडा पसल, चाडपर्वको समयमा खचाखच ग्राहकको भीड भरिन्थयो । उनीसँग कुरा गर्ने फूर्सद नभएर खाना खाने समय र दुकान खुल्नु वा बन्द हुनु अघि र पछि मात्र थोरै कुरा गर्ने मौका मिल्थ्यो । दशैं तिहार र छठ पर्वको बीचमा त ओम प्रकाश अग्रवाल ग्राहक वाहेक अरुसँग कुरा गर्न खासै भ्याउँदैन थिए । पसलबाट बिक्री भएको कपडाको भुक्तानी लिन र फिर्ता दिन नै उनलाई तीज सुरु भएपछि करिब–करिब भ्याइ नभ्याई सुरु भइहाल्थ्यो । तर यो वर्ष त उनी फुर्सदिला भेटिए । कारण विगतका समय जस्तो उनको पसलमा चाडपर्वका समयमा पनि पसलमा ग्राहक विना सुनसान जस्तो छ । यो वर्ष दशैं तिहार र छठ पर्वको बीच समयमा समेत हाई काडेर बसेका उनी भन्छन् ‘मधेश आन्दोलन र कोरोना कालपछि बजारको रौनक नै हरायो’ । अझ विगतका केही वर्षदेखि त चाडपर्वका समयमा पनि व्यापार हुन छोड्यो । यस्तै अवस्था भए अब उपाय नहुने भयो उनले तर्क गरे ।

अग्रवालकोभन्दा फरक अवस्था छैन वीरगन्जको मुख्य बजारकै अर्का व्यवसायी तथा उद्योग बाणिज्य संघ वीरगन्जका पूर्व अध्यक्ष गोपाल केडियाको पनि । उनको पसल पनि कपडा लगायतका सामान बिक्री गर्ने वीरगन्जको अति व्यस्त रहेन पसल हो । पूर्व अध्यक्ष केडियाको पसल पनि उनका बुबाले ६७ वर्ष अगाडीदेखि संचालन गरेको वीरगन्जको पुरानो पसल मध्येको एक हो । उनका चार दाजुभाई र तीन–चार कर्मचारीलाई सो पसलमा पहिले सामान दिन र पैसा लिन भ्याइनभ्याई हुन्थ्यो । तर अहिले भने सो पसलमा पनि ग्राहकको उपस्थिति ह्वात्तै घटेको छ ।

त्यसैगरी वीरगन्जको मिना बजार जहाँ तरकारी बजारसँगै रहेको किरानाका पसलहरुमा सामान किन्न जाने ग्राहकको अत्याधिक भिड हुने ठाउँ हो । तर दुईदशक लामो समयदेखि किराना पसल संचालन गर्दै आएका लड्डु किराना पसलका संचालक कृष्ण साह पनि व्यापार नभएर चिन्तित मुद्रमा भेटिएका छन् । इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने वीरजन्जमा प्रख्यात आरके इम्पोरियमका संचालक आलोक अग्रवाल झन बढि चिन्तामा देखिए । कति दिन त बहनी समेत नभएको उनले गुनासो गरे । चाडपर्वका समयमा पनि खासै व्यापार नभएको भन्दै अहिलेको व्यापारको अवस्था देखी आजित बनेका अग्रवाल, केडिया, साह र अग्रवाल उदाहरणका पात्र मात्र हुन् । आर्थिक नगरी वीरगन्ज लगायतका सीमा वारीका प्रायः सबै बजारका व्यवसायीको यस्तै अवस्था छ ।

ग्राहकको प्रतिक्षामा सीमावारी नेपाली बजार
सीमासँगै जोडिएको नेपाली बजार यतिवेला ग्राहकको प्रतिक्षामा दिनभरी रित्तै (ह्वाङ्गै) देखिन्छ । तर सीमापारी भारतीय रक्सौल बजारमा भने नेपाली ग्राहकको ठूलो भीड लाग्ने केन्द्र बनेको छ । उता सामान सस्तो पाइन्छ भन्ने सीमावर्ती जिल्लाका नेपाली ग्राहक मात्र मात्र नभई नेपालको भित्र जिल्ला तथा बजार (हेटौडा, नारायणघाट, काठमाण्डौ, पोखरा, बर्दिवास, सिन्धुली) का पनि ग्राहक पुग्ने गरेका छन् । तर नेपाली ग्राहकले ठानेजस्तो सबै सामान चाही त्यहाँ पनि धेरै सस्तो छैन । पारिका केही व्यापारीले नेपालीहरुलाई कतिपय सामानमा बढि मूल्य समेत लिने गरेको ग्राहकहरुले पनि खुलासा गरेका छन् । तथापि नेपालमा ल्याउँदा त्यही सामान करको भारले महँगो हुनेभन्दा केही सस्तो भने निश्चित रुपमा हुने गरेको नेपाली उपभोक्ताहरुको भनाइ छ । सीमावर्ती भारतीय बजार नेपाली ग्राहकलाई नै लक्षित गरी संचालित बजार हो । त्यहाँ भने चाडपर्वका समयमा मात्र नभई अरुवेला पनि बजार गुल्जार हुने गरेको छ ।

राज्यको आर्थिक र कर नीति अव्यावहारिक
नेपाली बजार रित्तो र पारी भारतीय बजार खचाखच हुने अवस्था राज्यको आर्थिक र कर नीतिको कारण भएको व्यवसायीहरुको आरोप छ । नेपालका राजनीतिक दल र तीनका नेता कार्यकर्ता पाल्न बनाइएको तीन तहको संरचनाले यो अवस्था आएको यहाँका व्यापारी खुलेरै बोल्न थालेका छन् । ६ महिना मधेश आन्दोलनमा निरन्तर साथ दिएका वीरगन्जका व्यापारी अहिले भने करको अचाक्ली भारले यसरी चल्न नसक्ने आफै पनि तर्क गर्न थालेका छन् ।

तीन तहको सरकार संचालन गर्न अत्याधिक कर थोपर्दा नेपालमा मालबस्तुको रेट उच्च भएको वीरगन्जका पुराना व्यापारी आलोक अग्रवाल बताउँछन् । नेता पाल्नका लागि हामीले कर तिर्न पर्ने ? जनता र व्यापारी मरेको कस्ले देख्छ ? उनले आक्रोसित हुँदै भने । दलको नाम नखुलाई अझ आक्रोशित हुँदै उनीसँगै रहेका अर्का व्यापारीले राजनीतिकर्मी र नेताहरुलाई अब लखेट्न पर्छ सम्म भन्न भ्याए । नेपालमा सामान महँगिदा सस्तो बजार खोज्दै ग्राहक सीमापारी पुग्ने गरेका छन् । यत्रो उच्च कर किन चाहियो ? भन्सार कर बढाएर काला बजारी गराई आफै अवैध व्यापार गराएर पनि नेताहरुले लाभ लिने गरेको केही व्यापारीले थप आरोप छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता पनि कर नीतिमा शंसोधन नगरे अवस्था अझ भयावह हुने तर्क गर्छन् । दाल, चामल, चीनि तेल र धान जस्तो खाद्यान्नमा पनि अव्यावहारिक हुने गरी राज्यले कर लगाउने गरेको उनको गुनासो छ । पटक–पटक सरकारका मन्त्रीहरुलाई भेटी कर र व्यापार नीतिका सम्बन्धमा सुझाव दिंदा पनि नीजि क्षेत्रको सुझाव राज्यले नसुनेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले पनि आरोप लगाए । व्यापारको नीति नै अव्यावहारिक भएको वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले पनि तर्क गरे । जीवनको ४० बसन्त विभिन्न उद्योग र प्रतिष्ठानहरुको नेतृत्वमा रहेर व्यापार र राज्यको आर्थिक तथा कर नीतिलाई नजिकबाट हेरेका बरिष्ठ उपाध्यक्ष गौतमले मुलुक टाटपल्टिई सकेको दावी गरे । मुलुकलाई बचाउने हो भने मुलुकको नयाँ संरचनादेखि आर्थिक तथा कर नीतिलाई अविलम्ब सुधार गर्न पर्ने उनको पनि सुझाव छ ।

नेपाली ग्राहकले भारतमा गई त्यहाँको जिएसटी (कर) तिरेर सामान ल्याइराखेका छन् । नेपालले कर गुमाएको छ ? करको दर बढाएर पुरै कर नै नआउने बाटो राज्यले अपनाउनु गलत भएको छ । करको दर कम गरी दायरा बढाए अवैध व्यापार पनि कम हुने र भन्सार मूल्याँकनमा सुधार गर्न सके वर्तमान अवस्था नरहने यहाँका उद्योगी व्यवसायीको सरकारलाई सुझाव छ ।

The post वारी नेपाली बजार सुनसान, पारी खचाखच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102656/