विश्वकप लिग-२: अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी

काठमाडौँ ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए । त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग-२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

अब सिरिज अन्तर्गत आइतबार राती नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Source : https://newsofnepal.com/2024/10/26/675284/