शान्तिसेनामाथिको आक्रमणबन्द गरियोस्

इजरायली सुरक्षा फौजद्वारा दक्षिणी लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना (युनिफिल)को शिविरमा काम गर्ने शान्ति सैनिकमाथि भएको आक्रमणको विश्वका अधिकांश मुलुकले भत्र्सना गरेका छन्। ती बाहेक पनि शान्ति मिसनमा खटिने नेपालसहित ३४ मुलुकले कडा आपत्ति जनाएका छन्।

ती मुलुकले युनिफिलमा योगदान गर्ने मुलुकले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिमा शान्ति सैनिकमाथि भएको स्थल आक्रमण तत्काल रोक्न माग गरेका छन् । इजरायली सेनाले शान्ति स्थापना गर्न पुगेका सेनामाथि आक्रमण गरेर ठूलो भूल गरेको छ । सैनिक सुरक्षा पोस्टमा प्रवेश गरी गोली प्रहार गर्ने इजरायली सेनामाथि अनुसन्धान गर्न ती राष्ट्रको माग छ। इजरायली सेनाले लेबनानमा गरेको आक्रमण रोक्न मुख्य सहयोगी अमेरिका, बेलायत, फ्रान्सलगायतका राष्ट्रले आग्रह गरेका छन्। इजरायली सेनाले आक्रमण नरोके अमेरिकाले दिने सैनिक सहयोग बन्द गर्ने चेतावनीसमेत दिएको छ।

इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)को ट्यांकरबाट प्रहार भएको गोलाबाट दुई इन्डोनेसियाली र दुई श्रीलंकालीसहित पाँच शान्ति सैनिकहरू घाइते भएका छन् । यो वर्षमा लेबनानमा नेपालसहित ३४ मुलुकका विभिन्न ११ वटा मिसनमा ६ हजारभन्दा बढी शान्ति सैनिक कार्यरत छन् । ती मध्ये नेपालबाट झन्डै ९ सय सेना तैनाथ छन् । ६ सय ८९ महिला सैनिक र २ सय २३ जना प्रहरी तैनाथ छन्। लेबनानमा शान्ति स्थापनाका लागि सन् १९७८ मा युनिफिलको स्थापना गरिएको थियो । शान्ति मिसन हाल शान्ति स्थापनाका अलावा मानवीय सहायता उपलब्ध गराउने कार्यमा पनि संलग्न भइरहेको छ।

यति धेरै संख्यामा खटिएका शान्ति मिसनका टोली इजरायली सेनाको कारण त्रसित छन् । दक्षिणी लेवनानमा शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि विश्वभर चिन्ता बढेको छ । आफ्नो सुरक्षाको लागि नेपाली सुरक्षाकर्मी बंकरमा बसेर सुरक्षा प्रदान गरिरहेका छन् । लेबनानमा अहिले पनि इजरेल र हिजबुल्लाहबीच लडाइँ जारी छ । इजरायली सेनाले गाजामा एक वर्षदेखि हवाई र स्थलयुद्ध रोकेको छैन । इजरायली सेनाले इरान समर्थित लेबनानी लडाकू समूह हिजबुल्लाहलाई निरन्तर आक्रमण जारी राखेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानबाट शान्ति मिसन हटाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका थिए । लगत्तै संयुक्त राष्ट्रसंघले सो क्षेत्रबाट युनिफिल मिसनमा कार्यरत कुनै पनि सुरक्षाकर्मीलाई नहटाउने जवाफ दिएको थियो ।

त्यसको बदलामा इजरायली सेना थप आक्रामक भएको थियो । आक्रमण नरोकेका कारण अमेरिकाले तत्काल आक्रमण रोक्ने चेतावनी दिएको हो । गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणपछि शुरु भएको युद्धमा झन्डै ५० हजार बढीको मृत्यु भइसकेको छ । त्यसमा अधिकांश महिला र वालबालिका छन् । आक्रमणको कारण लाखौं जनता घरबारविहीन भएका छन्। युद्ध समस्याको समाधान होइन । शान्ति स्थापना गर्न इजरायललाई सबै मुलुकले दबाब दिनु आवश्यक छ । होइन भने विश्वभर युद्धको आतंक मच्चिनेछ। यस विषयमा विश्वका ठूला मुलुकले सोच्नुपर्छ । तत्काल शान्ति स्थापना गर्न ठोस कदम चाल्नुपर्छ।

Source : https://newsofnepal.com/2024/10/18/673874/