२१ देशका सयभन्दा बढी कलाकारको काठमाडौंमा जमघट हुँदै

काठमाडौँ – काठमाडौंमा २१ विभिन्न देशका सयभन्दा बढी कलाकर्मी संगीत, सांस्कृतिक सम्पदा र सृजनशील बुद्धिमत्ताको आदानप्रदानका लागि भेला हुने भएका छन्।

‘ग्लोमस क्याम्प’ नामक यस अन्तर्राष्ट्रिय कार्यशालामा नेपालसहित ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाटककर्मी र कला प्राध्यापकहरू सहभागी हुनेछन्। कार्यशाला आइतबारदेखि १० दिनसम्म गोकर्ण रिसोर्टमा सञ्चालन हुनेछ। नेपाल संगीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले पत्रकार सम्मेलनमा कार्यशालामा सहभागी हुने विदेशी कलाकर्मीहरू नेपाल आउन सुरु गरिसकेको जानकारी दिए। यस कार्यशालाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्ने योजना छ।

कार्यशालामा सहभागीहरूले कला प्रशिक्षणमा भाग लिँदै आफ्ना कलाहरू प्रदर्शन गर्नेछन्। यसको उद्देश्य सृजनशील बुद्धिमत्ता, संगीत र सांस्कृतिक सम्पदाको आदानप्रदान गर्नु रहेको छ। ग्लोमसले सन् २००७ मा मोजाम्बिकमा पहिलो क्याम्प आयोजना गरेको थियो र त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल, र डेनमार्कमा सफलतापूर्वक सम्पन्न गर्दै नेपालसम्म आइपुगेको हो।

आयोजकहरूले यस कार्यक्रमले सृजनशील नागरिकता र विश्वव्यापी कलाकर्मीहरूको समानतालाई प्रवर्धन गर्ने बताउँदै, विद्यार्थी-केन्द्रित सिकाइ र अन्तर्राष्ट्रिय साझेदारीलाई पनि थप बल प्रदान गर्ने बताएका छन्। कार्यशालामा नेपालबाट २०० भन्दा बढी सहभागिता रहनेछ।

The post २१ देशका सयभन्दा बढी कलाकारको काठमाडौंमा जमघट हुँदै appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493345/