६ वर्षपछि चर्चित टेलिभिजन शो ‘सीआईडी’ पुन सञ्चालनमा आउँदै

काठमाडौं– भारतका साथै नेपालमा समेत सर्वाधिक रुचाइएको चर्चित टेलिभिजन शो ‘सीआईडी’ पुन आउने भएको छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शो पुन आउने भएको हो ।

सोनी टिभीले शोको क्लिप सार्वजनिक सिआईडीको पुनरागमन हुन लागेको जानकारी दिएको छ । क्लिपमा सिआईडीका लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् ।

दयानन्द शेट्टीको कालो आँखाको क्लोज–अप शटबाट क्लिप सुरु हुन्छ । त्यसपछि एसीपी प्रद्युम्न प्रहरीको गाडीबाट मुसलधारे पानीमा निस्केको देखिन्छ । पृष्ठभूमिमा सीआईडीको चर्चित थिम संगीत बज्छ ।

डिटेक्टिभ ड्रामा विधाको यो शोमा ‘इन्स्पेक्टर पंकज’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता अजय नागरथले पनि उक्त क्लिप आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘के तपाईं उत्साहित हुनुहुन्छ?’

यो लोकप्रिय शो फर्किने खबरले फ्यान पनि उत्साहित छन् । सोनी टिभीमा प्रसारित सीआईडी प्रसारणमा आएको २० वर्षपछि अक्टोबर २०१८ मा समाप्त भएको थियो । सिआईडीको ट्रेलर शनिबार सार्वजनिक हुने जनाइएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185262/