‘जोनसन्स बेबी पाउडर’को प्रयोगबाट क्यान्सरको खतरा ! 

काठमाडौँ । बालबालिकाको हेरचाहका लागि प्रयोग गरिने ‘जोनसन एण्ड जोनसन्स बेबी पाउडर’को प्रयोगबाट क्यान्सर हुने खतरा रहेको दाबी गरिएको छ । कम्पनीविरुद्ध कनेक्टिकटका इभान प्लोटकिनले हालेको मुद्दामा ‘जोनसन्स बेबी पाउडर’ निरन्तर प्रयोगबाट मेसोथेलियोमा जस्तो दुर्लभ क्यान्सर हुने खतरा रहेको दाबी गरिएको हो । 

उनले उक्त पाउडरको निरन्तरको प्रयोगबाट आफूलाई क्यान्सर भएको आरोप लगाएका छन् । प्लोटकिनले सन् २०२१ मा आफूलाई क्यान्सर रोग लागेको पत्ता लागेपछि कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा फेयरफिल्ड काउन्टी, कनेक्टिकट सुपीरियर कोर्टका जुरीहरुले कम्पनीले इभान प्लोटकिनलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । जुन फैसला अनुसार कम्पनीले क्षतिपूर्तिबापत ती व्यक्तिलाई १५ मिलियन डलर तिर्नुपर्नेछ । 

अर्कोतर्फ उक्त पाउडरमा मानव स्वास्थ्यका लागि हानिकारक फाइबर एस्बेस्टोस रहेको पनि दाबी गरिएको छ भने जोनसोन्स बेबी पाउडरको उत्पादन, बजारीकरण र बिक्रीमा सरकारलाई थप जवाफदेही हुन निर्देशनसमेत दिइएको छ । अदालतका जुरीहरुले गरेको उक्त फैसलाबाट कम्पनीलाई ठूलो धक्का लाग्ने बताइएको छ ।

यद्यपि कम्पनीले भने जुरीहरुको उक्त फैसला गलत भएको भन्दै र पाउडरको प्रयोगबाट कुनै क्यान्सर नहुने भन्दै जुरीहरुको फैसलाविरुद्ध अपिल गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Source : https://arthasarokar.com/2024/10/johnsons-powder.html