श्रीमती हत्या गर्नेलाई कारबाहीको माग

पोखरा । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका जहरसिंह कुँवरलाई कडा कारबाहीको माग गर्दै पोखराका व्युटिसियनहरु आन्दोलित भएका छन् । प्रशासनको मितेमतोमा दोषीलाई उम्काउने प्रयास भएको दाबी गर्दै उनीहरुले कानुनबमोजिम हदैसम्मको कारबाहीको माग गरेका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा विभिन्न नाराअंकित प्लेकार्डसहित आइतबार १ घण्टासम्म धर्ना दिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा घर भइ हाल पोखरा ८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय कुँवरले गत २६ भदौमा आफ्नै ४० वर्षीया श्रीमती राधिका कुँवरलाई आफ्नै डेरा कोठामा खुकुरी प्रहार गरी नृशंस हत्या गरेका थिए ।

छिमेकीले थाहा पाएपछि घाइते राधिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले तत्काल मृत घोषित गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निज जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको छ । कुँवर दम्पतीका १ जना छोरा छन् । सो घटना’bout विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यद्यपि, निज जहरसिंहका दाइ पूर्व डिएसपी भएको नाताले तथा जहरसिंह मानसिक रोगी भएको ठहर गर्दै निजलाई हदैसम्मको कारबाही प्रक्रियाबाट उम्काउने हुन् कि भन्ने आशंकामा पोखराका व्युटीसियनहरु आन्दोलित भएका हुन् । निकै संघर्षशील र मेहनती राधिका समेत ब्युटीसियन व्यवसायमा आबद्ध थिइन् । उनले १४ वर्षदेखि ब्यूटिसियन सम्बन्धी राज टे«डर्स कम्पनीका सामान खरिद बिक्री गर्दै आएकी थिइन् ।

आइतबार नेपाल ब्यूटीपार्लर एसोसिएसन गण्डकी, एसोसिएसन कास्की र एसोसिएसन लेखनाथले जिल्ला प्रहरी कार्यालय नजिकैको पोखरा उद्योग वाणिज्य संघमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले राधिकाको न्यायका लागि आफूहरु यसरी आन्दोलित भएको बताए ।

गुरुङ ब्युटीपार्लरका संचालक वरिष्ठ व्युटीसियन चिनु गुरुङले राधिकाको केस नहुनुपर्ने थियो, तर भयो । आगामी दिनमा यसप्रकारका घटनामा महिला दिदीबहिनीहरु अकालमा मृत्युको मुखमा पर्नु नपरोस् भनी न्यायका लागि अगाडि बढेको बताइन् ।

राधिकाकी बहिनी मेनका थापाले दिदी (राधिका) को १७ वर्षअघि विहे भएकोमा कहिल्यै पनि सुख नपाएको र अहिले आएर अकालमा ज्यान गुमाउनुपरेको भन्दै बिलौना गरिन् । उनले निजबाट जन्मेका ९ वर्षीय छोरा उक्त घरमा असुरक्षित रहेकोले हाल आफूले पालनपोषण गर्दै आएको बताइन् । छोरा हाल कक्षा ५ पढ्छन् । उनले नेपालको कानुन संशोधन गरेर भए पनि निज जहरसिंहलाई आजीवन काराबासको सजाय दिलाउनुपर्ने माग गरिन् ।

कार्यक्रममा नेपाल ब्यूटीपार्लर एसोसिएसन गण्डकी अध्यक्ष बविता केसी कार्की, जिल्ला अध्यक्ष छाया खनाल र लेखनाथ अध्यक्ष शोभा शर्मा पौडेल लगायतको उपस्थिति थियो ।

राधिकाका ४ दिदीबहिनी र ३ दाजुभाइ हुन् । तीमध्ये अधिकांश भारत बस्छन् ।

The post श्रीमती हत्या गर्नेलाई कारबाहीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101130/