श्रीलंकाका राष्ट्रपतिमा माक्र्सवादी नेता दिसानायके निर्वाचित

कोलम्बो । श्रीलंकाको राष्ट्रपतिमा माक्र्सवादी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित निर्वाचन लडेका ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत र एक मत नपु¥याएपछि मतगणना दोस्रो चरणमा धकेलिएको थियो । जसमा मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मतगणना गरिएको थियो । पहिलो चरणमा दिसानायकेले ४२ दशमलव ३६ प्रतिशत अर्थात् ५६ लाख मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२ दशमलव ७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार मत पाएका थिए । तेस्रो स्थानमा रहेका रनिल विक्रमासिंघेले १७ दशमलव २५ अर्थात् झन्डै २३ लाख मत पाएका थिए ।

श्रीलंकाका १ करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए । सन् २०२२ को आर्थिक संकटपछि भएको पहिलो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । दिसानायकेले मुलुकमा व्यापक परिवर्तन ल्याउने, भ्रष्टाचार नसहने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति अवलम्बन गर्ने वाचा गरेका छन् । तर, ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेको श्रीलंकाको संकट समाधान गर्न सजिलो भने नहुने विज्ञहरूको भनाइ छ ।

सन् १९७० र १९८० को दशकमा दिसानायकेको माक्र्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो, जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । उनको दलले सन् २०२० को संसदीय निर्वाचनमा ४ प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो । तर, श्रीलंकाको संकटले ५५ वर्षीय दिसानायकेका लागि देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ ।

मितव्ययिता अस्वीकार
विक्रमासिंघेले श्रीलंकाको आर्थिक मन्दीका बेला अर्थतन्त्रलाई स्थिर बनाउने र महिनौंदेखिको खाद्यान्न, इन्धन र औषधिको अभाव अन्त्य गर्ने कडाइका उपायहरू जारी राख्न नयाँ जनादेशको खोजी गर्दै पुनः निर्वाचनको घोषणा गरेका थिए । आर्थिक मन्दीका कारण उत्पन्न नागरिक अशान्तिका कारण पूर्ववर्ती गोटबाया राजपाक्षको कार्यालय परिसरमा हजारौंको संख्यामा आक्रमण गरेपछि राजपाक्षले देश छोडेर भाग्दै विदेशबाटै राजीनामाको घोषणा गरेका थिए । विक्रमासिंघेले आफ्नो दुई वर्षे कार्यकालमा सडकमा शान्ति बहाली गर्नुका साथै धरासायी बनेको अर्थतन्त्रलाई सही दिशा दिन सफल भएका थिए ।

सन् २०२१ देखि २०२२ को बीचमा श्रीलंकाको गरिबीदर दोब्बर भएर २५ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ, जसले गर्दा दैनिक ३ दशमलव ६५ अमेरिकी डलरभन्दा कममा जीवनयापन गर्ने मानिसको जनसंख्या २५ लाखभन्दा बढी पुगेको छ ।

The post श्रीलंकाका राष्ट्रपतिमा माक्र्सवादी नेता दिसानायके निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101127/