अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक दोस्रो


काठमाडौं ।

हंगेरीको बुडापेस्टमा भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिंग दोस्रो भएका छन् । विवेकले अन्तिम चरणको खेलमा हंगेरीका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरेका हुन्। यससँगै उनी नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा रहेका हुन्।

उनले ३ सय यूरो पुरस्कार प्राप्त गरेका छन् ।अमेरिका, जर्मनी, डेनमार्क, हंगेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटाली र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको विच कडा प्रतिस्पर्धा भएको थियो । विवेकले बुडापेस्टबाटै बताए—“नेपाल बुद्धिचाल महासंघले हंगेरीको खेलमा सहभागी हुने मौका दिएको हो।

मैले राष्ट्रको लागि खेलेर दोश्रो स्थान प्राप्त गर्न सफल भएँ । हामी खेलाडीहरुलाई थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ ।

विवेकले यो जित उनका आमाबुबामा समर्पित गर्न चाहेको पनि बताए । चेस ओलम्पियाड सबैभन्दा ठूलो प्रतियोगिता हो । अन्तर्राष्ट्रिय प्रतियोगिताको तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरीयन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन् । विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ । विजेताले ३ सय ७५ यूरो पुरस्कार हात पारेका छन्।

क्याण्डिडेट मास्टर विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यस खेलवाट १७ रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन् । उनको यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन सफल भएका थिए । अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्नेछन् ।

विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, बिलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्।

Source : https://newsofnepal.com/2024/09/22/669214/