लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद

काभ्रेपलाञ्चोक– बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट पटाका भेटिएको छ । यस्तै हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट पटाका भेटिएको छ । यस्तै प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।

यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल दुई लाख ८६ हजार आठ सय पिस पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

 

Source : https://onlinetvnepal.com/2024/09/183757/