अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै

काठमाडौं । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३६ अर्ब ४ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९० करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अहिलेसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नुलाई खतराको रूपमा लिइन्छ । चालू आवका लागि सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गर्दा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको ऋण २५ खर्ब १८ अर्ब पुग्यो

फेरि पनि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सामान्यतया विकास खर्चका लागि ऋण लिनुपर्नेमा सरकारले ऋण तिर्नकै लागि ऋण लिने नीति बजेटमार्फत नै गरेको छ । वित्तीय व्यवस्था भनेको लिएको ऋण र साँवा तिर्नका छुट्याएको बजेट हो । अहिले सरकारले पुँजीगत खर्च १० प्रतिशत मात्र गर्न सकेको छ भने वित्तीय व्यवस्थातर्फ २८ प्रतिशत पु¥याएको छ ।

यसको अर्थ सरकारले १८ प्रतिशत वित्तीय व्यवस्थामा गरेको खर्च ऋण लिएरै गरेको हो भन्ने देखिएको छ ।

सरकारले ऋण लिएर विमानस्थल, सडक, फास्ट ट्र्याक, सिँचाइजस्ता आयोजना निर्माण गरिरहेको छ । चालू आव २०८१–८२ को पहिलो चौमासिक अवधिमा ८४ अर्ब सरकारी ऋण थपिएको छ ।

चालू आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड रुपैयाँ थप भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रुपैयाँबराबर छ । जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत रहेको छ ।

घाटा बजेट ल्याएको सरकारले चालू प्रकृतिको खर्चलगायतका लागि ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्ममा १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण लिइसकेको छ । चालू आवका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् १ खर्ब ४४ अर्ब कात्तिकसम्ममा उठाइसकेको छ । त्यस्तै, २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव १ प्रतिशत अर्थात् २१ अर्ब ७२ करोड ऋण लिइसकेको छ ।

कात्तिक मसान्तसम्ममा १ खर्ब ८ अर्ब १४ करोड साँवा–ब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ५२ अर्ब ३२ करोड वैदेशिक सहायता वा अनुदान लिने लक्ष्य राखेकामा हालसम्म १ रुपैयाँ अनुदान पाउनसमेत सरकार असफल रहेको छ । अनुदान लिन नसकेपछि र बाह्य ऋण लिन पनि कठिनाइ हुन थालेपछि सरकारले अहिले १० अर्ब रुपैयाँ विकास ऋणपत्रका नाममा आन्तरिक ऋण उठाउने सूचना प्रकाशित गरेको छ ।

विकास खर्चमा कमजोर देखिए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब अर्थात् १ हजार करोड रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

कार्यालयले सूचना जारी गर्दै ३ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ३ वर्षे विकास ऋणपत्र आज (बुधबार) बोलकबोलमार्फत बिक्री गर्दै छ । सो विकास ऋणपत्र भोलि (बिहीबार) बिक्री वितरण गर्ने कार्यालयले जनाएको छ ।

सो ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिनसक्ने प्रावधान रहेको छ ।

सरकारले बाह्य र आन्तरिक गरी साउनदेखि कात्तिकसम्ममा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिइसकेको छ । यस अवधिमा साँवा र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ ।

सरकारले यसबीचमा ऋण र ब्याज पनि तिरेको छ । ब्याज भुक्तानीमा १८ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको छ भने बाह्य ऋणको साँवा भुक्तानीमा १३ अर्ब ५७ करोड र ब्याज भुक्तानीमा २ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ ।

आव २०७९–८० मा वैदेशिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादनको २१ दशमलव ९ प्रतिशत रहेको थियो । सो वर्ष १ खर्ब १६ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त भएको थियो । अहिले भने जीडीपीको ४४ प्रतिशत पुगिसकेको छ ।

आव २०१८–०१९ बाट आन्तरिक ऋण उठाउन थालिए पनि वैदेशिक ऋण भने आव २०२०–०२१ बाट लिन थालिएको थियो । सो वर्ष सरकारले १ करोड ३४ लाख रुपैयाँ वैदेशिक ऋण प्राप्त गर्ने लक्ष्य लिएको थियो ।

आव २०२०–०२१ यता २०३९ सालसम्म वैदेशिक ऋणको तुलनामा धेरै अनुदान रकम प्राप्त भएको थियो । २०४० सालदेखि भने अनुदानको तुलनामा ऋणको अंश बढ्दै आएको छ ।

The post अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104504/