अवैध रुपमा सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । अवैध रुपमा सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कलकत्ता पश्चिम मेदिनीपुर घर भई काठमाडौँ महानगरपालिका २५ बाङ्गेमुढा बस्ने ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बङ्गाल मेदनापुर जिल्ला समङ थाना घर भई बाङ्गेमुढा बस्ने ३० वर्षीय आनन्द साहु रहेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आनन्दलाई कात्तिक ७ गते र बेरालाई ८ गते पक्राउ गरेको हो । त्यस्तै, शङ्कास्पद तवरले हिँड्डुल गरिरहेका आनन्दलाई खानतलासी गर्दा बिल बिजक बिनाको ११६.४५ ग्राम सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

साथै, निजलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त सुन बेराको भएको भन्ने सूचना प्राप्त भएपश्चात निज प्रशन्जित बेरालाईसमेत  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Source : https://arthasarokar.com/2024/10/gold-236.html