आइएसएफ जिम्नासाइडमा खेल्ने टोलीको बिदाइ

काठमाडौं ।

आइएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई नैकापस्थित ब्राइट फ्युचर स्कुलले शनिबार बिदाइ गरेको छ।

पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उप मेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले टोललिाई बिदाइ गरेका हुन्।

अक्टोबर २३ देखि ३१ सम्म बहराइनको मानामामा हुने आइएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट तीन खेलाडी, दुई प्रशिक्षक र एक टोली प्रमुखसहित ६ जनाको सहभागिता रहनेछ। उक्त प्रतियोगितामा तेक्वान्दोका उज्ज्वल वाग्ले, लवाङ लामा र निविता केसीले प्रतिस्पर्धा गर्नेछन्। उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निविताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

त्यसैगरी प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन्। उनीहरूसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्ने छ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबारै बहराइन प्रस्थान गरेका छन्।

आइएसएफ आयोजनामा हुने प्रतियोगितामा नेपालले पाँच खेलमा सहभागिता जनाउदै छ। नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (चार टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन्।

यु–२० उमेर समूहको आइएसएफ जिम्नासाइड सन् १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २०औं संस्करण हुन लागेको हो। प्रत्येक दुईवर्षको अन्तरालमा हुने आइएसएफ जिम्नासाइडको १९औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाएको सचिव रेग्मीले जनाएको थियो। त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो।

Source : https://newsofnepal.com/2024/10/20/674288/