छाया सेन्टर विवादः गुठियारको मिलेमतोमा मोही कायम

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायादेवी सेन्टर बनाइएको कि.नं. १६७ को जग्गा गुठियारले आफ्नो अधिकार क्षेत्र मिचेर व्यक्तिका नाममा मोही कायम गरेको विषयमा गम्भीर प्रश्न उठेको छ । मोही हक कायमसँगै कमलपोखरी मासेर व्यक्तिका नाममा कायम भएसँगै यो विवाद अहिले सर्वोच्चमा छ ।

व्यक्तिका नाममा ल्याएर व्यापारिक कम्प्लेक्स

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको सो जग्गामा व्यक्तिको मोही कायम हुँदै किनबेच भएको जग्गा हो । सो जग्गा व्यक्तिको हुने कि गुठीको नाममा रहेको सार्वजनिक पोखरी भन्ने विषय विवादमा छ । गुठीको नाममा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिका नाममा बनाइएपछि छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा छन् ।

२०३३ सालमा सो जग्गाका विषयमा गुठियारले मिलापत्रका आधारमा केयुरशमशेरका नाममा मोही कायम गराउँदा गरुड भगवान्का नाममा सो जग्गा कायम हुने र मोहीका नाममा भोगचलन गर्ने भनेर कायम गरेको देखिन्छ । गुठियारको क्षेत्राधिकारभन्दा बाहिर गएर कमलपोखरीलाई मोही कायम गराई सो जग्गालाई पछि किनबेच गरेर व्यक्तिका नाममा प्रयोगमा ल्याइएको थियो । २०४४ सालसम्म आउँदा पनि सो जग्गा श्री ५ को सरकारको नाममा दर्ता भएको पाइन्छ । दर्ता गरिएको कमलपोखरीको कित्ता नं. १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घरजग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएको छ ।

गुठी संस्थानको जानकारीबिना सरकारको स्वामित्वमा भएको राजगुठीको जग्गा यसरी व्यक्तिका नाममा दर्ता गर्न र मिलापत्रका नाममा कसैलाई हस्तान्तरण गर्नै मिल्दैन । आश्चर्य के छ भने यसमा अदालतको समेत रोहबर देखिन्छ । अदालतसमेतको रोहबरमा कुनै राजगुठीको जग्गा व्यक्तिका नाममा मोही हक कायम गराउन मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न उठेको छ ।

गुठी ऐनविपरीत २०३३ र २०६२ सालमा मिलापत्र गराएर व्यक्तिका नाममा दर्ता
थहवी विक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलको जग्गाका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिका नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीका नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा थुनामा राखी कारबाही गरी कि.नं. साविक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचना भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए ।

अम्बिका राणाले १८ माघ २०४७ मा कित्ता नं. १६७ को जग्गा आफू र आफ्ना दाजु शंकरप्रसाद शाहका नाममा गुठी रैतानी (व्यक्तिगत नाममा) दर्ता गरेकी थिइन् । गुठी संस्थानले भुलवश आफ्ना कर्मचारीका कारण सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता हुन गएको भन्दै दुई महिना नबित्दै (१५ चैत २०४७ मा) त्यसरी दर्तामा संलग्न श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीका गुठियार र सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्ने र जग्गा श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीलाई नै फिर्ता गराउने निर्णय ग¥यो । राणा र शाहलाई पैसा फिर्ता लिन बोलाइयो । सो निर्णय खारेज गर्न राणा र शाहले गुठी संस्थानविरुद्ध अदालतमा मुद्दा दर्ता गराए । राणा र शाहले मुद्दा हारे । त्यसपछि उनीहरू रिट लिएर तत्कालीन पुनरावेदन अदालत गए । यस मुद्दामाथि २५ जेठ २०५३ मा पुनरावेदन अदालतले गरेको निर्णय राणा र शाहकै पक्षमा आयो ।

सो निर्णयको विरोधमा १८ मंसिर २०५५ मा श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीका गुठियारहरूले पोखरी र डिल पुरानै स्वामित्वमा फर्काउन र पुनरावेदन अदालतको निर्णय बदर गर्न गुठी संस्थान केन्द्रीय कार्यालय, गुठी लागत तथा तहसिल कार्यालय, अम्बिका राणा र शंकरप्रसाद शाहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे । तर, तिनीहरूले १६ असार २०६२ मा १ करोड ५० लाख रुपैयाँ र ४ रोपनी जग्गामा सर्वोच्च अदालतमा मिलापत्र गरे ।

कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना व्यक्तिका नाममा कसरी भयो ?
मालपोत कार्यालयका अनुसार साबिक नगर २९ कि. नं. १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम क्षेत्रफलका सम्बन्धमा कार्यालयको अभिलेखबमोजिम नाप नक्सा अवस्थाकै सुरु कित्ता भएको भनी सर्वोच्चमा पत्र पठाएको छ । गुठी लगत तथा तहविल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ च.नं. २४३३ को २१ जेठ २०३९ को पत्रानुसार दर्ता भएको भनी सर्वोच्चलाई जवाफ पठाएको छ । गुठीको ६ असार २०४० को पत्र र नापी कार्यालयको १५ साउन २०४१ को पत्रानुसार कि.नं. १६७ कित्ताकाट भई कि.नं. १६१६ को ६ रोपनी सुधा पौडेल, कि.नं. १६१७ को २ रोपनी १० आना विणा पौडेल र कि.नं. १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम क्षेत्रफल केयुरशमशेरका नाममा बाँकी देखिन्छ भनी सर्वोच्चलाई पत्र पठाइएको छ । साथै, गुठी लगत तथा तहसिल कार्यालयको २१ माघ २०४४ को पत्रानुसार कि.नं. १०४० र कि.नं. १६१८ जग्गाधनीमा अम्बिका राणाका नाममा नामसारी भएको र गुठी लगत तथा तहसिल कार्यालयको च.नं. २९९६ र २१९७ को १८ माघ २०४७ को पत्रानुसार कि.नं. १६१६ र कि.नं. १६१७ रैतानी भई शंकरप्रसाद शाहबाट पुनः प्रतिमा पाडेका नाममा गएको र कि.नं. १६१८ कित्ताकाट भई २४१२ सुरेसाय हाउजिङ प्रालिमा गई सो कित्ता प्रतिमा पाडेमा गई प्रतिमा पाडेबाट कि.नं. १६१६, १६१७, २४१२ को जग्गा २ भदौ २०६५ मा छायादेवी कम्प्लेक्समा गएको देखिन्छ भनी सर्वोच्चलाई जवाफ पठाएको थियो ।

The post छाया सेन्टर विवादः गुठियारको मिलेमतोमा मोही कायम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102589/