नेपालका नौ सभामुख, को कहिले भए ?

नेपालको इतिहासमा हालसम्म प्रतिनिधिसभामा नौ जनाले सभामुखको भूमिका निर्वाह गरेका छन्। पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा विसं २०१५ मा संसदीय अभ्यासको सुरुवात भएको मानिन्छ।

त्यसबेला विसं २०१६ असार १९ देखि २०१७ पुस १ सम्म अर्थात् प्रजातन्त्र अपहरण भई पञ्चायती व्यवस्था लागू हुनु अघिसम्म नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) सभामुख भएका थिए। उनी संसदीय व्यवस्थाका पहिलो सभामुख हुन्। विसं २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्षसमेत हुनुभएका भट्टराई बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पहिलो प्रधानमन्त्रीसमेत बनेका थिए। उनले नै नेपाल अधिराज्यको संविधान २०४७ (१९२४–२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व बहन गरेका थिए।

त्यसपश्चात् एकैचोटि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएसँगै संसदीय व्यवस्थाले निरन्तरता पायो। यो व्यवस्थाको दोस्रो सभामुख दमननाथ ढुंगाना हुनुभयो। राजनीतिज्ञ तथा मानवअधिकारकर्मी ढुंगाना २०४८ असार ९ देखि २०५१ असोजसम्म सभामुख भएका थिए। नेपाली कांग्रेसको तर्फबाट आमनिर्वाचन–२०४८ मा काठमाडौं जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएपश्चत् उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको हो।

संसद्को तेस्रो सभामुख बनेका नेता रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन्। उनी विसं २०५१ असोज ३ देखि २०५५ चैत्र ९ सम्म सभामुखको भूमिकामा थिए। पौडेलले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए।

नेपालको चौथो सभामुख बनेका नेता तारानाथ रानाभाटले विसं २०५६ असार ९ देखि २०६३ वैशाख १५ कार्यकाल सम्हालेका थिए। राजा ज्ञानेन्द्र शाहको शासनकालमा सभामुख बनेका रानाभाटले कांग्रेसबाट प्रतिनिधित्व गरेका थिए। नेपालमा गणतन्त्र घोषणा भएसँगै उनको सभामुखको जिम्मेवारी पनि सकिएको थियो।

नेपालको पाँचौ सभामुख सुवासचन्द्र नेम्वाङले सबैभन्दा बढी (करिब आठ वर्ष) सभा सञ्चालन गरे। नेकपा एमालेबाट प्रतिधित्व गरेका नेम्वाङले पहिलोपटक विसं २०६३ वैशाख ३० देखि २०६३ माघ १, दोस्रो कार्यकाल २०६३ माघ ३ देखि २०६५ जेठ १४, तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ जेठ १४ र चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए।

छैटौं सभामुखका रूपमा नेपालले महिलालाई स्थान दिएको पाइन्छ। नेकपा माओवादीका ओनसरी घर्तीमगर विसं २०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म सभामुख बनेर संसद्को नेतृत्व गरेकी थिइन्।

त्यस्तै, साताैं सभामुखका रूपमा विसं २०७४ फागुन २७ देखि २०७६ असोज १४ सम्म कृष्णबहादुर महराले संसद् चलाए। माओवादीका नेता महराले संसद् सचिवायलकै एक महिला कर्मचारीसँगको सम्बन्धको विषयमा विवादित भएपछि सभामुखबाट राजीनामा दिनुपरेको थियो।

यसपछि नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटा विसं २०७६ माघ १२ देखि २०७९ को आमनिर्वाचन अघिसम्म आठौँ सभामुखको जिम्मेवारीमा हुनुहुन्थ्यो। सभामुख हुँदै उनीमाथि ज्यानमुद्दालाई लिएर विवाति भए । सो मुद्दा अहिले पनि अदालती प्रक्रियामा छ।

आमनिर्वाचन–२०७९ बाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा आएका देवराज घिमिरेले हाल नवौं सभामुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्।

Source : https://newsofnepal.com/2024/10/17/673845/