विश्व बैंकले नेपाललाई १५ करोड डलर दिने , रोजगारी सृजना गर्न सघाउने सहमति

विश्व बैंकले रोजगारी सृजना गर्न नेपाललाई सघाउने भएको छ ।

अमेरिकामा रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग गर्नुभएको भेटवार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको अमेरिकामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।

विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति पनि सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा अर्थमन्त्री पौडेलसहितको प्रतिनिधिमण्डल वासिङटनमा रहेको छ ।

Source : https://www.khasokhas.com/211033