३६ वर्षपछि न्युजिल्यान्डको जित

एजेन्सी ।

न्युजिल्यान्डले झन्डै ३६ वर्षपछि भारतीय भूमिमा टेस्ट जितेको छ। बैंगलोरको चिन्नास्वामी स्टेडियममा भएको पहिलो टेस्टमा भारतलाई ८ विकेटले पराजित गरेपछि साढे तीन दशकपछि न्युजिल्यान्डले भारतमा टेस्ट जितेको हो । समग्रमा न्युजिल्यान्डले भारतविरुद्धको तेस्रोपल्ट टेस्ट जितेको हो ।

यसअघि सन् १९६९ मा ग्राहम डाउलिङको कप्तानीमा न्युजिल्यान्डले नागपुरमा भारतलाई १६७ रनले हराएको थियो। त्यस्तै, सन् १९८८ मा मुम्बईको वानखेडेमा जोन राइटको कप्तानीमा न्युजिल्यान्डले भारतलाई १३६ रनले हराउँदै दोस्रोपल्ट टेस्ट जितेको थियो ।

पहिलो पटक न्युजिल्यान्डले लक्ष्य पछ्याउने क्रममा जित हात पारेको हो । यससँगै भारत टेस्टमा लगातार जितको क्रम पनि टुटेको छ । यसअघि भारतले घरेलु मैदानमा लगातार ६ टेस्ट जितेको थियो । गत जनवरी २५ मा हैदरावादमा भएको खेलमा इङ्ल्यान्डले भारतलाई २८ रनले पराजित गरेको थियो।

यसपछि भारतले लगातार ६ खेल जितेको थियो। अहिले यो क्रम तोडिएको छ। यति मात्र होइन, २४ वर्षपछि भ्रमणकारी टोलीले भारतमा १ सयभन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पूरा गरेको छ। पछिल्लो पटक सन् २००० मा यस्तो घटना भएको थियो । त्यसबेला दक्षिण अफ्रिकाले वानखेडेमा भारतविरुद्ध १६४ रनको लक्ष्य भेटाएको थियो ।

आइतबारको खेलमा टम लाथमको कप्तानीमा रहेको न्युजिल्यान्डलाई १०७ रनको लक्ष्य पछ्याउन त्यति सहज भने भएन । पहिलो सेसनमा जसप्रित बुमराह र मोहम्मद सिराजले आफ्नो स्विङबाट न्युजिल्यान्डका ब्याट्सम्यानलाई निकै समस्यामा पारे । तर, ब्याटले चौका प्रहार गरिरहे ।

भाग्यले पनि भारतीय बलरलाई साथ दिएन । जसका कारण भारतले हार बेहोर्नुपर्‍यो । पहिलो इनिङमा बनाएको ४६ स्कोरले पनि भारतलाई हार दिलायो । यो जितसँगै न्युजिल्यान्डले तीन खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट यही २४ अक्टोबरदेखि पुणेमा शुरु हुनेछ ।

भारत इनिङ हार जोगाउन सफल
भारतले पहिलो इनिङमा ४६ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले पहिलो इनिङ ४०२ रनमा सकाएको थियो । यसरी न्युजिल्यान्डले ३५६ रनको अग्रता लिएको थियो । यति रनको अग्रतामा प्राय जसो टिमले इनिङ हार जोगाउन सकिँदैन । तर, भारतले दोस्रो इनिङमा ४६२ रन बनाएर इनिङ हार टारेको थियो ।

न्युजिल्यान्डले २७.४ ओभरमा दुई विकेट गुमाउँदै १०७ रनको विजयी लक्ष्य प्राप्त गरेको थियो । पहिलो विकेट कप्तान टम लाथम (शून्य) र दोस्रो विकेट डेभोन कोन्वे (१७) गुमे । रचिन रविन्द्रले अविजित ३९ तथा विल योङले ४८ रन बनाए । यी दुईबीच अविजित ७५ रनको साझेदारी भएको थियो ।

Source : https://newsofnepal.com/2024/10/21/674396/