‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै नायिका पूजा शर्माले भनिन्, ‘मनमा बत्ति बाल्नुहोस्’

काठमाडौं– दशैंको फूलपातीको दिन रिलिज हुन लागेको तीन फिल्ममध्ये ‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै नायिका पूजा शर्माले मनमा बत्ति बाल्न सुझाव दिएकी छन् । उनले एक दुई जनाको रिसले धेरैको सपना बिगार्ने काम नगर्न भन्दै उनले सकारात्मको सोच राख्नसमेत आग्रह गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै उनले लेखेकी छन्, ‘मन्दिरमा होइन हजुर, मनमा बत्ति बाल्नुहोस् । नकारात्मक सोचले हुने केही होइन । सबैको राम्रो सोचम । १,२ जनाको रिसले धेरै जनाको सपनालाइ लात्ती हान्ने काम नगरम ।’

दीपकराज गिरी र दिपा श्री निरौलाको ‘छक्का पञ्जा ५’, जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ र विराज भट्टका बाबुछोराको ‘१२ गाउँ’ एकै दिन असोज २४ मा रिलिज हुँदैछन् । प्रदर्शन मिति नजिकिँदै गर्दा यी फिल्महरुको बीचमा ‘वार’ नै चलिरहेको छ । अझ ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ बीच कुन फिल्म बढी चल्ने भन्ने विषयमा सामाजिक सञ्जालमा टिप्पणी चलिरहेका छन् । ‘छक्कापञ्जा ५’ को रिलिज भएका गीत र ट्रेलरमा समेत १२ गाउँकै चर्चा भइरहेको छ ।

दर्शकहरु १२ गाउँको समर्थनमा लागेपछि छक्कापञ्जालाई निरुत्साहित गर्ने क्रम चलिरहेको छ । यही माहोललाई खण्डन गर्दै नायिका पूजा शर्माले आफ्नो सामाजिक संजालमा उक्त स्टाट्स हालेकी हुन् । पूजा शर्माको लगानी र अभिनय रहेको फिल्म ‘रावायण’ केहीसमय अघि प्रदर्शन भएको थियो । रिलिजपूर्व सामाजिक संजालमा राम्रो हाइप बनाएपनि रिलिजपछि भने बक्स अफिसमा फ्लप भएको थियो ।

Source : https://onlinetvnepal.com/2024/10/184804/