‘बेहुली फ्रम मेघौली’को क्लिप खिचेर सामाजिक सञ्जालमा राखे अकाउन्ट बन्द हुने

काठमाडौं– चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्ल्प्सि राख्ने सामाजिक सञ्जालका अकाउन्ट बन्द हुने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बेहुली फ्रम मेघौली’का दृश्य राख्ने अकाउन्ट बन्द गरिदिने भएको हो ।

‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको छ ।

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।”

‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ । चलचित्रको मुख्य भूमिकामा रहेका निश्चल र स्वस्तिमा खड्काले नै फिल्ममा लगानी गरेका छन् । यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/184802/