प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि मिनबहादुरसँग मागे जग्गा

सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका संचालन मिनबहादुर गुरुङसंग जग्गा माग गरेका छन् ।

महापर्व दशैं, दिपावली एंव छठ पर्वको शुभ अवसरमा आज सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसंग जग्गा माग गरेका हुन् ।

`अर्वौको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरि पार्टी कार्यालय बनाइदिने भाट्भटेनीका संचालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि ! अर्बौंको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो´ आजपा अध्यक्ष साहले भने ।

एमालेसंग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउदै उनले सदस्यहरुबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने सक्थ्यो तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए ।

आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने बताउदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साहले लिन तयार रहेको आह्वान गरे ।

मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ´ आजपा अध्यक्ष साहले भने,महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ । काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो ।´

देशलाई समृद्ध बनाउन नदिने, लुट मचाउने पार्टी नै एमाले, कांग्रेस र मधेसबादी दलहरु भएको टिप्पणी गर्दै साहले यी लुटेरा दलहरुलाई बहिस्कार गर्नुपर्ने आह्वान गरे ।

आजपाका जिल्ला अध्यक्ष उदय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिलटु यादव, महासचिव त्रिभुवन साह, आम दलित मोर्चाका अध्यक्ष ठागा दास, धनुषा अध्यक्ष रामसागर महासेठ, स्थायी कमिटीका सदस्यद्व्य संजय यादव, बिजय यादव, आम उधोग बाणिज्य महासंघका अध्यक्ष साजन जयसवाल सहित सर्वसाधारण लगायतको सहभागीता रहेको आईटी आर्मी काठमाडौं उपत्यकाका ईन्चार्ज आर्या पाण्डेले जनाएका छन् ।

The post प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि मिनबहादुरसँग मागे जग्गा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102280/