लामिछाने पक्राउ प्रकरण: विरोधमा रास्वपा केन्द्रीय नेतृत्व नै पोखरामा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यतिखेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएका लामिछानेलाई शनिबार बिहान ३ बजेदेखि प्रहरी हिरासतमा राखिएको हो । शनिबार सार्वजनिक बिदा परेकाले आज (आइतबार) उनलाई जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप हुनेछ ।

पूर्वआँकलनबमोजिम पार्टी सभापति नै पक्राउ परेपछि रास्वपाका केन्द्रीयस्तरका नेताहरूसहित कार्यकर्ताहरू पोखरा ओर्लिएका छन् । उनीहरूले शनिबार दिनभरजसो विरोध प्रदर्शन गरे । विरोधसभामा बोल्ने नेताहरूले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको बताएका छन् । उनीहरूले सरकार भ्रष्ट भए पनि अदालतले निष्पक्ष छानबिन गरी तत्काल रिहाइ गर्ने विश्वास व्यक्त गरेका छन् ।

चिप्लेढुंगास्थित मानवअधिकार चोकमा शनिबार भएको विरोध प्रदर्शनमा बोल्दै पार्टीका नेताहरूले ‘बूढी मरीभन्दा पनि काल पल्केको’ संज्ञा दिँदै सरकार मरिसकेको र उसको दिनगन्ती सुरु भएको दाबी गरे ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले २०८४ सालको निर्वाचनमा आफू हारिने डरले अतालिएर कांग्रेस–एमाले गठबन्धनको सरकारले रास्वपाको अभियान दबाउन यो हर्कत गरेको आरोप लगाए । सरकार एउटा भन्ने तर काम अर्कै गर्ने भएपछि कसैको केही नलाग्ने उनको भनाइ थियो । ‘पुराना दलहरूको कार्यशैलीका कारण जनतामा चरम निराशा छाएको छ, उनीहरूको आशा धिपधिप मात्र बलिरहेको छ, तर यो आशा निभ्न दिनुहुन्न, हामी हरेश खाएका छैनौं,’ अर्थशास्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य डा. वाग्लेले भने, २०८४ सालको निर्वाचनमा अझ सशक्त हुनेछौं, अहिले कांग्रेस र एमालेको मत जोडे पनि ५५ लाख मात्र हुन्छ, हामीहरूको अहिले नै १२ लाख मत आयो, २०८४ सालमा तेब्बर मत आए पुराना दल बढारिनेछन् ।’

उनले सूर्य थापा संयोजकत्वको सहकारी छानबिन संसदीय समितिले सभापति लामिछाने सहकारीको रकम ल्याउने कार्यमा संलग्न नरहेको स्पष्ट बताइसक्दासमेत कम्पनी ऐन आकर्षित हुनेमा अनेकथरीका मुद्दा मामिलामा फसाउन लागेको आरोप लगाए ।

अर्का उपसभापति डीपी अर्यालले २०८४ सालको निर्वाचनमा हारिने डरले पार्टी सभापतिलाई जाक्न पाए, रास्वपा सकिन्छ भन्ने मनशायले यो हर्कत गरेको दाबी गरे । पोखरामा जनताको लहर देखेको भन्दै उनले यो अभियान सुरु भएको बताए । पार्टी सभापति लामिछानेको सहकारीमा कुनै पनि लेनादेना नभए पनि राजनीतिक प्रतिशोधस्वरूप उनलाई पक्राउ गरिएको उपसभापति अर्यालले जिकिर गरे । उनले भने, ‘दुई तिहाइको दम्भ देखियो, भर्खरै गएको बाढीपहिरोले सरकार कहाँ छ भन्ने देखियो, सभापतिको पक्राउसँगै सरकार मरिसक्यो, तर हामीलाई न्यायालयको विश्वास छ ।’

पार्टी सहप्रवक्ता मनीष झाले पार्टी सभापति रवि लामिछानेले देशका लागि बलिदानी दिन तयार भइरहँदा आपूm पनि शहीद हुन तयार रहेको उद्घोष गरे । उनले एमाले, कांग्रेसका एउटा पनि नेताले आफ्नो पार्टीमा यो राज्यको सम्पत्ति तथा करदाताको कर दोहन नगरेको भनी भन्नसक्छ ? भन्दै उनले चुनौती दिए ।

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले यो सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले केपी शर्मा ओली सरकारले रवि लामिछानेको परिवर्तनको अभियानलाई दबाउने प्रयास गरेको बताए । उनले सभापति लामिछानेको रिहाइका लागि उभिएको नभई, विभिन्न सहकारीको ८७ अर्ब रुपैयाँ बचतकर्तालाई फिर्ता गराउने अभियानमा शंखघोष गर्दै उभिएको बताए । उनले भने, ‘महामहिम प्रधानमन्त्री कमरेड, एकैछिन शिलान्यास गरेर मीनबहादुर गुरुङको १० रोपनी जग्गा पचाउनुहोला, तर बालुवाटार काण्डको ठगलाई बचाउन दिँदैनौं ।’

अर्का नेता हरि ढकालले न्यायालयहरूप्रति विश्वास गर्ने भन्दै रवि लामिछाने तत्काल रिहाइ हुने बताए । उनले लामिछानेको रिहाइसँगै २०८४ सालको निर्वाचनमा सबै पुराना दल लखेटिने दाबी गरे ।

डा. तोषिमा कार्कीले ओली सरकारको सय दिनको उपलब्धि के हो ? भनी प्रतिप्रश्न गरिन् । उनले पुरै सरकारी संयन्त्र लागेर पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै चर्को विरोध गरिन् ।

विरोधसभापछि जुलुस बीपीचोक, महेन्द्रपुलसम्म पुगेकामा गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयअगाडि जान भने प्रहरीले रोकेको थियो । नेताहरूले विरोध प्रदर्शन अराजक हुन नदिने भन्दै कार्यकर्तालाई संयमित हुन पटकपटक आग्रह गरिरहेका थिए । विरोधमा रास्वपाले पार्टीको झन्डा तथा निर्वाचन चिह्न अंकित कुनै पनि चिज प्रदर्शन गरेन । बेलाबेलामा भने ‘केपी ओली राजीनामा दे’लगायत चर्का नाराबाजी गरिरहेको थियो ।

काठमाडौं, चितवन, कास्की र छिमेकी जिल्लाबाट रास्वपाका जिल्लास्तरका नेता तथा कार्यकर्ताहरू पोखरा आएका छन् । रास्वपाले आज (आइतबार) मध्याह्न पनि शहीदचोकस्थित कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

लामिछानेमाथि पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोप छ । उनलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ पुर्जीको अनुमति लिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो ।

पार्टी सभापति लामिछानेलाई प्रहरी हिरासतमा राखिएपछि पोखरा–४ गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय आसपास क्षेत्रमा रास्वपाका नेता तथा कार्यकर्ताको शनिबार बिहानदेखि नै चहलपहल थियो ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी कार्यालय परिसर, जिल्ला अदालत, सीडीयो कार्यालय तथा पोखराका मुख्य चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालित छ । त्यस खण्ड हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई समेत चेकजाँच गरिएको छ । सवारीसाधन रोकेर सोधपुछ गर्ने गरिएको छ ।

यसैबीच, सहकारीपीडितले पनि शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयअघि प्रदर्शन गरे । उनीहरूले लामिछाने पक्राउसँगै निष्पक्ष छानबिनको माग गरे । सहकारीपीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले लामिछानेको पक्राउसँगै आफूहरूलाई केही राहत मिलेको महसुस भएको बताए । उनले देशभरका सबै सहकारीपीडितको बचत रकम फिर्ता गर्नतर्फ यो सरकार लागिपर्नु पर्नेमा जोड दिए ।

The post लामिछाने पक्राउ प्रकरण: विरोधमा रास्वपा केन्द्रीय नेतृत्व नै पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102424/