विपदमा सारथि बनेका हातहरु 

काभ्रे।
२०८१ असोज ११ गते राति बेथान्चोक गाउँपालिकामा रहेको चलाल गणेस्थान रोडा ढुंगा उद्योगमा कार्यरत दुई कर्मचारी पुरिए । असोज १२ गते बिहान देखि सञ्चार सम्पर्क विच्छेद भयो । विद्युत् अवरुद्ध भयो । खोला बढ्यो । पहिरो चल्यो । कोलाहल भयो । घर बाहिर निस्कन कठिन भयो । सँगै हावाहुरी र चट्याङ्ग पनि । 

बेथान्चोक गाउँपालिका वडा नम्बर ३ घर भएका अजय तिमल्सिना खानीमा कार्यरत थिए । पहिरो आउँदा बाहिरै थिए । सिरानीमा भएको आईफोन निकाल्न भित्र गए । उनका साथी अमृत रिजाल पनि भित्रै थिए । अन्य दुई भाग्न सफल भए । मोवाईल निकाल्न जाँदा अजय पुरिए । अमृत पनि त्यहि कोठामा पुरिए । शव निकाल्ने क्रममा उनिहरुको बीभत्स दृश्य देखियो । नेपाली सेनाको कालीजंग गणबाट खटिएको टोलीले खानीमा स्काभेटरको सहायता लिएर शव खोतल्यो । रग्ताम्मे थिए अजय । घन्टौ लाग्यो निकाल्न । निकालेको शवलाई सडकसम्म ल्याउने हिम्मत पनि कसैले गरेन । बरु सेनाले बोकेर ल्याएको शवको मोवाईलबाट भिडियो र फोटो खिच्न हुल अगाडी बढ्यो । मानवीय संवेदना छाडेर हुल रमिता देखाउँदै थियो । शव बोक्ने कपडा समेत पाएन सेनाले । न बाँसको टुक्रा । बल्लतल्ल बोकेर ल्याएको शवको रगत सेनाको उद्धार टोलीको शरीरभरि लाग्यो । रगतको टाटा टकटकाउँदै लफलफ भिजेको पोसाकमा सेनाको उद्धार टोली पुनः बेथान्चोक फर्कियो । 

असोज १३ गते सेनाको उद्धार टोली हेलिकप्टरमा बेथान्चोक पुगेको थियो । हेलिकप्टर रोक्न कठिन भए पछि अलिक माथीबाटै हाम फालेको टोलीले तत्कालै बेथान्चोक ३ मा पुरिएका आमा छोराको शव निकाल्न पुग्यो । स्थानीयहरु पुगिसकेका थिए । सेनाको टोलीले थप सहयोग ग¥यो । सविता शंकर र उनका ११ वर्षीय छोरा समीर सुतेकै स्थानमा पुरिएका थिए । वडा अध्यक्ष कुवेर ढकालले ह्दयविदारक घटनाको कल्पना समेत गर्न नसकिने बताए । वडा नम्बर २ मा यमबहादुर श्रेष्ठ (हरी) को निधन भयो । वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले भने–‘खोल्साहरु पनि खोला बने । भल समेत तर्न सकिएन । पक्की संरचना बाँकी छैन । विषम परिस्थितीमा सेनाको उपस्थिति र सहयोग सहनीय रह्यो ।’ 

तीन दिनको रासन बोकेर गाउँ गएको १५ सदस्यीय कालीजंग गणको टोलीसँग थप कपडा पनि थिएन । एउटै पोसाकमा खोज, उद्धार चलिरहेको थियो । हिलो र पानीले लफलफ भएको कपडा नै उनिहरुको सुत्ने विछ्याउनाको साथी थियो । ७ दिनसम्म लगातार एउटै पोसाकमा उद्धार टोलीले काम गरिरह्यो । बेथान्चोक वडा नम्बर १, २, ३, ४ र ५ मा निरन्तर टोली सक्रिय रह्यो । वडा नम्बर ४ मा ८५ वर्षका दुई जना जेष्ष्ठ नागरिकलाई २ किलोमिटर टाढा पहिरोको जोखिम मोलेरै डोको खोजेर सहज स्थानमा सा¥यो । सल्लाफेद घर भएका पुलिस तामाङको शव निकाल्न उद्धार टोली पुग्यो । त्यो अर्काे बीभत्स दृश्य थियो । पहिरो आउँदा घर भित्र करेन्ट सर्ट भएर ग्याँस सिलिन्डर समेत पड्किएर उनी पुरै डढेको अवस्थामा फेला परेका थिए । शवका केही टुक्रा मात्रै बाँकी थिए । 

सलान्दु खोलाले वडा नम्बर ४ कै काशीराम महतलाई पनि निल्यो । सेनाको अथक प्रयत्न पछि मात्रै उनको शव फेला प¥यो । असोज १४ गते सोमबार राति मात्रै उनको शव सेनाले निकाल्यो । चलाल गणेशस्थानमा एक दम्पती नै पुरिएका थिए । ७० वर्षीय चेतमान तामाङ र ७० बर्षिया पुतलीमाया तामाङको पुरिएर निधन भएको थियो । सिम्लेका सूर्य तामाङको पनि पुरिएर निधन भएको थियो । उक्त वडामा ९ जनाले ज्यान गुमाए । जेठाजु मदन परियारलाई घर अघिबाट अनियन्त्रित रुपमा बगिरहेको सलान्दु खोलाले बगाउँदै गरेको ज्ञानुले देखिन् । अशक्त हुँदा हुँदै पनि ज्ञानुले जेठाजु मदनलाई तानिन् । मदनलाई बचाउँदा ज्ञानु खोलामा खसिन् । खोलाले बगायो र कल्र्भटमा लगेर च्यापेको आशंका स्थानीयले गरे । दुई दिनसम्म सेनाले शवको खोजी ग¥यो । सलान्दुले निलेकी ज्ञानु फेला पर्न सकेकी छैनन्। 

‘बच्चाहरु निदाउनै सक्दैनन, निदाए पनि चिच्याउँछन र निद्रामा नै उठेर जाउ भन्छन’–स्थानीय गिता थापाले भनिन–‘यस्तो अवस्थामा नेपाली सेना, स्थानीय सरकारले खेलेको भूमिका महत्त्वपूर्ण छ ।’ २०३८ साल असोज १३ गते आएको विध्वंस पानीले पनि खोला बढेको थियो । सलान्दु खोलामा माछा मार्न सकिने थियो । त्यतिबेला खानी थिएनन् । खोलामा ग्यागरिङ्ग नहुँदा क्षति हुन पाएन । अहिले खोलामा पानी भन्दा धेरै ग्यागरिङ्ग र लेदो बगेका कारण क्षति धेरै भयो । गाउँमा घरहरु भत्किए पछि धेरै विस्थापित भएका छन् । बस्तुहरु भएकाले गाउँ छाड्न नसकिएको राजन कार्कीले बताए । बस्ती बगाए पछि नागरिकहरु संकटमा परेका छन् । सलान्दु बगर आसपासका सबै घरहरु बगाएको छ । बाँकी रहेका घरहरु पनि बस्न योग्य छैनन । बसोबासका लागि पुनर्स्थापनाका लागि जमिन समेत नभएको उनीहरूले बताए । खेत बगर भएको छ भने बारी बगाएकाले भिर भएको छ । सडक, विद्युत्, खानेपानी, सरकारी भवनहरु, निजी घर तथा अन्य भौतिक संरचना क्षतिको गणना गरी साध्य छैन ।


 
स्थानीय जनप्रनिधिहरुले पहिलो चरणमा खोज र उद्धारमा सक्रिय भए । उपाध्यक्ष तारा राना तिमल्सिनाले तत्कालै सडक संचालनका लागि पहल भएको बताइन् । अध्यक्ष भगवान अधिकारीले नागरिकहरुको खोज, उद्धार पछि राहत र संरचना सहज बनाउन शुरु गरिएको बताए । गाउँपालिकाको सक्रियताकै कारण महिनौसम्म पनि असम्भव देखिएको पाटीखर्क–ढुंखर्क मुल सडकको ट्रयाक खोलिएको छ । महान चाड दशैमा नागरिकहरु सवारी साधनमा गाउँ पुग्न पाएका छन् । वडा वडा पुग्ने सडक सफाइ गरिएको छ । वडाअध्यक्षहरुको सक्रियता पनि उत्तिक्कै प्रशंसनीय रह्यो । तर विपदमा एनजिओ, आईएनजिओ जस्ता संस्थाहरु निश्क्रिय जस्तै देखिए । सरकारी निकायमा विपद्को पूर्व तयारी देखिएन । बेथान्चोकको गौरवका आयोजना सबै ध्वस्त भएका छन् । शुन्यताबाट फेरी उठ्ने प्रयत्न पालिकाले शुरु गरिसकेको छ । नागरिकहरुको विश्वास र प्रयत्न, जनप्रतिनिधिहरुको नेतृत्वदायी भूमिका विपद् पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि कामवायी बन्न सक्छ । 

तीन दिनका लागि गएको सेनाको उद्धार टोलीले ७ दिन काम ग¥यो । गाउँपालिकाको पुरिएको प्रशासनिक भवनका सामाग्रीहरु निकाल्न सहजीकरण ग¥यो । भोक, प्यास, पानी, हिलो, संकट, निद्रा, थकाई केही नभनी नागरिकहरुको उद्धारमा सक्रिय सेनाको टोली प्रति स्थानीयले भरोसा गरे । आफ्नो भन्दा पनि नागरिकको विपत्तिमा साथी गाउँपालिकाले आवश्यक सहजीकरण ग¥यो । विपद् पछिको यो अवस्थामा भन्नै पर्छ – नागरिकहरुमा कहाँ गयो मानविय संवेदना ? जनप्रतिनिधि र उद्धारमा खटिने नेपाली सेना लगायत सुरक्षा निकायका अन्य अंगहरु नेपाल प्रहरी, शशस्त्र प्रहरी, स्थानीयहरुलाई सलाम छ । अवको चुनौती विपद् पछिको खोज र उद्धारमा प्रविधि आवश्यक छ । पूर्व तयारी आवश्यक छ । काभ्रेपलाञ्चोक जिल्ला आगलागी, वाढी पहिरो, भूकम्प, चट्याङ्ग लगायतका विपत्तिको केन्द्र बनिरहेको छ । यसबाट बच्न अहिलेको तयारी फिक्का छ । तीन तहकै सरकारको मुख्य चुनौती विकास, विनाश पछि बुद्धी हो कि ? विकास र बुद्धिले विनाश रोक्ने हो ?  

Source : https://newsofnepal.com/2024/10/17/673749/