‘निलो क्रान्ति जिन्दावाद!’ भन्दै पोखरामा रास्वपाको प्रदर्शन

काठमाडौं- सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ ।

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए । त्यस्तै उनको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद १’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेस गरिएको थियो ।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185019/