सहकारी ठगी प्रकरण : रवि र जीबीका व्यावसायिक साझेदार पक्राउ

काठमाडौं ।

सहकारी संस्थामा राखेको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ पर्नुभएको छ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार शंखमूलबाट पक्राउ गरेको हो।

जोशी गोरखा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई र पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेका व्यावसायिक साझेदार हुन्। गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको केही घण्टामै प्रहरीले जोशीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका जोशीलाई थप कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कास्की लगिएको छ।

गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सो प्रतिवेदन यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा प्रहरीले सम्बन्धित व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएको छ।

छानबिन समिति बनेयता सहकारी ठगी प्रकरणमा डेढ दर्जन व्यक्तिहरू पक्राउ गरिसकिएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले जानकारी दिनुभयो।

छविलाल जोशीको प्रक्राउ पुष्टि गर्दै कार्कीले भन्नुभयो–‘सहकारी प्रकरणमा प्रहरीले आइतबार छविलाल जोशी पक्राउ गरेको छ। उक्त काण्डमा पक्राउ पर्नुपर्ने बाँकी व्यक्तिहरूको उच्च निगरानी भइरहेको छ। हालसम्म सहकारी प्रकरणमा संलग्न सयभन्दा बढी पक्राउ परिसकेका छन् भने केही समययता उच्च तहकासहित करिब डेढ दर्जन व्यक्तिहरू पक्राउ परेका छन् ।’

संसदीय विशेष छानबिन समितिले गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरेसँगै सरकार र सरोकारवाला निकायसँग प्रतिवेदन कार्यान्वयन आग्रह गरेको थियो। समितिले ४० वटा सहकारी संस्थामाथिको अध्ययन अनुसन्धानका क्रममा गरी ५५ जनासँग बयान लिएको प्रतिवेदनमा उल्लेख छ। बयान लिएका सबैमाथि प्रहरीले थप अनुसन्धानका लागि बोलाउनुपर्ने समितिले सरकारलाई सुझाव दिएको छ।

समितिको प्रतिवेदनअनुसार ४० सहकारीबाट हजारौं बचतकर्ताको ८७ अर्बभन्दा बढी रकम अपचलन भएको ती सहकारी संस्थाको वित्तीय विश्लेषणमार्फत् देखिएको निष्कर्ष निकालेको छ। त्यसमध्य ६५ करोड ५४ लाख रकम गोरखा मिडिया नेटवर्कमा रकम आएको र सोही मिडियामार्फत् अपचलन भएको छानबिन समितिले पुष्टि गरेको छ।

कम्पनीको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको उक्त रकम जीबी, रवि, छविको संयुक्त दस्तखत नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित खोलिएको पाइएको छ। सो खाता गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीमध्ये एकको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुँदै आएको थियो।

उक्त सो खातामा सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपियाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ ’ – प्रतिवेदनमा उल्लेख छ।

Source : https://newsofnepal.com/2024/09/23/669413/