शिक्षकहरूको पेशागत क्षमता बढाउन पाँच दिने तालिमको आयोजना

धनगढी । धनगढी उपमहानगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिमको आयोजना गरेको छ । उपमहानगरपालिकाको नमुना विद्यालय छनौटमा परेका विद्यालयका शिक्षकहरूको पेशागत क्षमता बढाउन पाँच दिने तालिमको आयोजना गरिएको हो ।

उपमहानगरपालिकाको नमुना विद्यालय छनौटमा परेका पाँच वटा विद्यालयका शिक्षकहरूको लागि सोमबारबाट काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा पाँच दिने तालिमको आयोजना गरिएको हो ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा काठमाडौं विश्वविद्यालयको ट्रेनिङ अफ स्कुलले पाँच दिनसम्म ८७ जना शिक्षक–शिक्षिकाहरूलाई तालिम दिइने बताइएको छ ।

नमुना विद्यालय छनौटमा परेका विद्यालयका शिक्षकहरूलाई तालिम दिन डाक्टर पार्वती ढुंगानाको संयोजकत्वमा चार जनाको विज्ञ टोली आएको छ । उनीहरूले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिम दिनेछन् ।

सो तालिममा शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र अंग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम प्रदान गरिने धनगढी नगर प्रमुख गोपाल हमालको सचिवालय प्रमुख कृपाराम उपाध्यायले बताए ।

तालिममा पाँच वटा नमुना विद्यालयका शिक्षक–शिक्षिकाका अलावा अन्य विद्यालयका बालविकास सहजकर्ताहरूको पनि सहभागिता रहको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

‘तालिममा सहभागी शिक्षक–शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिइने छ,’ सचिवालय प्रमुख उपाध्यायले भने, ‘बालविकासदेखि कक्षा ३ सम्मको एउटा समूह, कक्षा ४ देखि ७ सम्म अर्को र कक्षा ८ देखी १२ सम्मको तेस्रो समूह बनाएर प्रशिक्षण दिइने छ ।’

तालिम पश्चात् प्रभावकारी ढंगले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न, स्थानीय स्रोत साधनवाट शैक्षिक सामग्री निर्माण गर्न र अंग्रेजी विषय शिक्षण गर्न शिक्षकहरूलाई थप सीप र क्षमता हासिल हुने धनगढी उपमहानगरपालिकाको विश्वास रहेको छ ।

तालिममा नमुना विद्यालय छनौटमा परेका धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को भवानी मावि, वडा नम्बर ११ को ठेकराज मावि, वडा नम्बर १२ को सिद्धनाथ मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर १८ को चन्द्रोदय माविका शिक्षक–शिक्षिका सहभागी रहेका छन् ।

धनगढी उपमहानगरपालिकाको हरेक वर्ष पाँच वटा सामुदायिक विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउने योजना रहेको छ । यहाँका १९ वटा वडामा गरी ६८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

हरेक वर्ष छुट्टाछुट्टै वडाबाट पाँच वटा विद्यालय छनौट गरी आगामी पाँच वर्षको अवधिमा १९ वडामा १९ वटा नमुना विद्यालय बनाउने धनगढी नगर प्रमुखको योजना रहेको नगर प्रमुख हमालका सचिवालय प्रमुख उपाध्यायले बताए ।

यसरी नमुना विद्यालय छनौटमा परेका विद्यालयका शिक्षकरूलाई पेशागत क्षमता बढाउन तालिम तथा ती विद्यालयको भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा धनगढी उपमहानगरपालिकाले सहयोग गर्ने बताएको छ ।

The post शिक्षकहरूको पेशागत क्षमता बढाउन पाँच दिने तालिमको आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/94730/