पुष्प व्यवसायमा जमेका बिष्ट दम्पती

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ६ की सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ । गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन् ।

बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी छन् । डेढ विघामा लगाएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने पुष्प व्यवसायी सुशीला बिष्टले बताइन् । उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन् । ‘यो वर्ष हामीले डेढ बिघामा पुष्पखेती गरेका छौँ,’ उनले भनिन्, ‘दसैंदेखि नै फूल बिक्री गर्न थालेका छौँ र तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको छ ।’

न्यु बन्डोली नर्सरी कन्सर्न स्थापना गरेर सुशीला बिष्ट र उनका पति शंकर बिष्टले वर्षभरि नै फूल उत्पादन गर्दै आएका छन् । उनीहरूले धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रसमेत व्यवस्थापन गर्दै आएका छन् । उपभोक्ताबाट माग आएको खण्डमा धनगढीको हकमा घरमै फूल तथा माला पुगाउने गरेका बिष्ट दम्पतिले विवाहका लागि विभिन्न प्रकारका माल तयार गर्नुका साथै गाडी, माण्डप र स्टेज सजावटको काम समेत गर्दै आएका छन् ।

बिष्ट दम्पतीले धनगढीका अन्य किसानले उत्पादन गरेको फूलसमेत बिक्री गर्दै आएका छन् । सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत विभिन्न समयमा फूलको माग हुने गरेको बिष्टले बताइन् । हामीलाई सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत फूल तथा मालाको माग आउने गरेको छ । माग आएमा सम्बन्धित ठाउँमा बस तथा अन्य सवारी सधानबाट पुगाउने गरेका छौँ,’ बिष्टले भनिन् ।

धनगढीको मटियारीको न्यु बन्डोली नर्सरी कन्सर्नका सञ्चालक बिष्ट दम्पतीको बारीमा कलकतिया, कर्मा ५५५, कर्मा १११, कर्मा पहेंलो, सेतो र सुन्तला रंगको सयपत्री र सुपारी (मखमली) फूल ढकमक्क फुलेको छ ।

पहिले साझबिहानको छाक जोड्न समस्या हुनेगरेको थियो । पुष्पखेतीमा लागेपछि राम्रै आम्दानी भई केही रकम बैंकमा जम्मा गर्न सकेको बिष्ट दम्पतीको भनाई रहेको छ ।

फूल अन्यत्र पठाउन उपमहानगरको आर्थिक सहयोग
सुशीला बिष्ट जस्तै धनगढीका थप १० जना किसानले यो वर्ष पुष्पखेती गरेका छन् । धनगढी उपमहानगरपालिकाले गत वर्ष २६ जना किसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएकोमा यो वर्ष तालिम लिएका १० जनाले व्यवसायिक पुष्पखेती गरेका छन् । किसानले उत्पादन गरेको फूल बिक्री गर्न उपमहानगरले फूल बिक्री केन्द्र खोल्न र यान्त्रिकरणमा अनुदान दिएको छ ।

कृषि विकास निर्देशनालयले समेत धनगढीका पुष्पखेती गर्ने किसानलाई शित भण्डार निर्माण गर्न सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाले किसानलाई अन्यन्त्र पुष्प पठाउनुपर्ने अवस्थामा भाडामा ५० प्रतिशत अनुदान दिने गरेको छ ।

जसले गर्दा धनगढीमा उत्पादित फूल नेपालगन्ज, पोखरा र काठमाडौं पठाउन किसानहरूलाई सहज भएको बिष्टले बताइन् । उनले नियमित रुपमा नेपालगन्ज, पोखरा र काठमाडौंबाट माग आउने गरेको तथा उपमहानगरको ५० प्रतिशत भाडा सहयोगमा पठाउन सहज भएको बताइन् ।

The post पुष्प व्यवसायमा जमेका बिष्ट दम्पती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102777/