पोखरामा आज पनि रास्वपाको प्रदर्शन

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ।

लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो। उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो।

शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो। रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ।

यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरूले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।

उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरूले स्थानीयको घर-घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।

Source : https://newsofnepal.com/2024/10/23/674818/