लामिछानेमाथि अनुसन्धान गर्न ६ दिन म्याद थपियो

पोखरा ।

पोखराको सडक दुई दिनदेखि तातिन थालेको छ । दुई दिनयता पोखरामा सहकारी पीडितलाई न्याय दे भन्ने नारासमेत घन्किन थालेको छ। तर, त्यो नारा सहकारीपीडितले होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले लगाइरहेका छन्।

सभापति रवि लामिछानेलाई शुक्रवार पक्राउ गरेर पोखरा ल्याएपछि पार्टीको शीर्ष नेतादेखि विभिन्न जिल्लाका कार्यकर्तासमेत पोखरा छन्। शनिवार मानवअधिकार चोकमा विरोध प्रदर्शनी गरेका उनीहरूले आइतबार सहिदचोकमा प्रदर्शनी गरे। म्याद थपका लागि अदालत ल्याउने भएपछि कार्यकर्ताले अदालत अघि विरोध गरेका हुन्।

रवि लामिछाने निर्दोष रहेको र राजनैतिक प्रतिशोध साँध्नका लागि फसाउने काम प्रधानमन्त्री केपी ओलीको रहेको रास्वपाको नेताहरूको आरोप छ।

रास्वपाका कार्यकर्ता आइतबार निषेधाज्ञामा प्रवेश मात्र गरेनन् दिनभर निषेधाज्ञामै बसी विरोध गरे भने पीडितहरूले निषेधाज्ञामा प्रवेश गरेनन्। उल्टै आफूहरूलाई विरोध नभई साथको आवश्यकता रहेको बताए। सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेको नाम जोडिँदा प्रहरीले अनुसन्धान गर्दै गर्दा जनतामाथि नै पार्टी खनिनु विश्वकै नमुना भएको पीडितहरूले बताएका छन्।

सहकारीपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जनताको रकम हिनामिना हुँदा रास्वपाले विरोध गर्नु गलत रहेको बताउनुभयो । उहाँले दुई वर्ष अघिदेखि आफूहरूले विभिन्न पार्टीको ढोका ढकढकाउँदा चुइँक्क नबोलेको तर, आज अनुसन्धानका लागि पक्राउ पर्दा विरोधमा उत्रिनु गलत रहेको उहाँले बताउनुभएको हो।

लामिछानेमाथि संगठित अपराध कसुर छ । सोही कसुरमा जिल्ला अदालत कास्कीले शुक्रवार पक्राउ गर्न अनुमति दिएको थियो । आइतबार म्याद थपका लागि जिल्ला अदालतमा लामिछानेलाई हाजिर गराएपछि प्रहरी र रास्वपा कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।

‘नियम बनाउने ठाउँमा तपाईंहरू, सांसद तपाईंहरू सदनमा लगेर सहकारीपीडितहरूलाई रकम दिने वातावरण बनाउनुस् न । जीवी राईलाई खोज्नेदेखि पक्राउ गरी सम्पत्ति लिलाम गरी हाम्रो बचत फिर्ता गर्ने काम गर्नु त ल पर्सिबाट हामी तपाईंको पार्टीको झण्डामुनि आउँछांै । केही नगर्ने अनि यसो गर्छु र उसो गर्छु भनेर मात्रै हुन्छ ? कहाँ कहाँ गर्नुहुन्छ विरोध तपाईंहरू आज पोखरामा भोलि चितवन होला त्यसपछि बुटबल, काठमाडौंलगायत होला’, उहाँले भन्नुभयो– ‘जीवी राईले ६ सहकारी डुबाएको र ती सहकारी भएका जिल्लामा जान पर्नेछ, बरू आएर मिलेर कसरी हुन्छ समस्या समाधान हुन्छ भन्ने कुरा गर्ने, पीडितहरूसँग भेटघाट गर्ने, उहाँहरूको सांसदले नेताहरूले भेटघाट गर्ने, मिलापत्र गर्न सकिन्छ कि के गर्न सकिन्छ भन्ने कुरा गर्ने हो । अब त यो हाम्रो मात्रै मुद्दाको विषय पनि रहेन । यो त राष्ट्रिय मुद्दा बन्यो । हामीले झोला लिएर आएका छौं हाम्रो रकम दिनुस् आ–आफ्नो बाटो जान्छौ ।’

रास्वपाको तीन चार सय जनाको हुलभन्दा आफूहरू ४० जनाको समूह बढी रहेको उहाँको भनाइ छ । उहाँले रास्वपाले विभिन्न स्थानबाट कार्यकर्ता टिपेर ल्याएको भन्दै आक्रोशसमेत पोख्नुभएको छ । लामिछानेलाई थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि ६ दिनको म्याद थप भएको हो । अर्थात ३ दिन अझ हिरासतमा रहनेछन् ।

ओली सबैभन्दा बढी भ्रष्टाचार गर्ने ठहरिन्छन् : लामिछाने
म्याद थपका लागि अदालत लगिएका लामिछानेले कास्की जिल्ला अदालतको परिसरमा केपी ओलीको सरकार रहिरहेमा नागरिकले दुःख पाउने प्रतिक्रिया दिनुभयो । उहाँले न्यायलयप्रति आफूलाई विश्वास रहेको र आफूले न्याय पाउने बताउँदै आफूलाई जसरी डेढ वर्ष लगाएर अनुसन्धान गरे ओली सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति ठहर हुने बताउनुभयो। m

‘न्यायलयप्रति विश्वास छ तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । यो अधिनायकवादी सरकारका विरुद्धमा यही बेलामा देशभरबाट मेरा लागि होइन देशका लागि बाहिर आउन जरुरी छ’, उहाँले भन्नुभयो– ‘मलाई जस्तै डेढवर्ष लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचार गर्ने केपी ओलि नै हुनेछन् ।’ झुटा मुद्दामा मान्छे फसाउने काम निरन्तर चलिरहने र अपराध भइरहेन उहाँको भनाइ छ ।
पोखराका दुई स्थानमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको दुई स्थानमा निषेधाज्ञा जारी गरिएको छ । रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपश्चात पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरूले फरकफरक विरोधका कार्यक्रम गरेपछि सुरक्षा भङ्ग हुन सक्ने भन्दै आइतबार बिहान ११ बजेर ४५ मिनेटदेखि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला अदालत रहेको स्थानमा चार किल्ला क्षेत्र घोषणा गरी निषेधाज्ञा जारी गरेको हो । सहिदचोक आसपासको क्षेत्र पूर्वतर्फ वाईचोक (उत्तरतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङचोक (दक्षिणपश्चितर्फ पर्यटन बोर्डको कार्यालय अगाडिसम्म) निषेधाज्ञा जारी गरेको हो ।

यस्तै, पोखरा ४ गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्की मातहातको क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषित गरिएको हो । निषेधाज्ञा जारी गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी अर्को आदेश जारी नभएसम्मका लािग निषेधाज्ञा जारी गरिएको छ।’

निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो।

Source : https://newsofnepal.com/2024/10/21/674411/