‘चन्दा नदिए बमले उडाइदिने’ भन्दै म्यासेज पठाउने कामदार पक्राउ

काठमाडौं– आफुले काम गर्ने कम्पनीको म्यानेजरलाई चन्दा नदिए बम विस्फोट गराउने धम्की दिँदै म्यासेज गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको ज्यामिरेका ३२ वर्षीय आकाश तामाङलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।

उनी काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ मा चिनियाँ नागरिकले सञ्चालन गरेको सिसुवान याङ टेक्टटायल प्रालि नामको कपडा उद्योगमा काम गर्दै आएका थिए । कम्पनीको म्यानेजरमा नेपाली महिला मिङवुती शेर्पा छिन् ।

शेर्पाको मोबाइलमा अज्ञात नम्बरबाट पटक–पटक आफ्नो पार्टीलाई दुई लाख रुपैयाँ चन्दा दिन धम्कीपूर्ण म्यासेज गरेको र नदिए बमसमेत विस्फोट गराउने भन्दै म्यासेज आएको थियो । शेर्पाले अज्ञात म्यासेजको बारेमा प्रहरीलाई जानकारी गराएकी थिइन् ।

सोपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा उद्योगमै कार्यारत तामाङले उक्त धम्कीपूर्ण म्यासेज गरेको खुलेको हो । उनलाई सोमबार कम्पनीबाट नै पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185177/