नेपालद्वारा माल्दिभ्सको पोस्टमा गोल वर्षा


-रेखा एक्लैले ५ गोल गरिन्
-प्रितीको ह्याट्रिक

काठमाडौं ।

जारी साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि गोल वर्षा गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा आयोजकको टिम नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको हो।

यो नेपालको जारी प्रतियोगितामा दुई खेलमा पहिलो जित हो। यसअघि भृुटानसँगको खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । नेपालको जितमा रेखा पौडेल एक्लैले ५ गोल गर्दा प्रिती राईले ह्याट्रिक गरिन्।

यस्तै, सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले १–१ गोल गरेका हुन् । खेलको सातौं मिनेटमा प्रितीको गोलसँगैं नेपालले अग्रता लियो । २९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

३२ औं मिनेटमा रेखाले नेपाललाई ३–० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीमार्फत् गोल गरेकी थिइन् । ४२ औं मिनेटमा रेखाले अर्को गोल थपिन् । सविताको पासमा रेखाले पहिलो टचमै गोल गरेकी थिइन् । योसँगैं नेपालले पहिलो हाफमा ४–० को अग्रता लिएको थियो ।

दोस्रो हाफ शुरु भएलगतै रेखाले एक गोल थपेर ह्याट्रिक पुरा गरेकी थिइन् । यसपछि उनले व्यक्तिगत दुई गोल थपेकी थिइन् । प्रितीले एक गोल थपिन् । उनले डिबक्सभन्दा बाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । उनले पेनाल्टी गोलमार्फत् ह्याट्रिक पुरा गरेकी थिइन् ।

यसअघिको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो। यी नतिजापछि नेपाल र भुटानको समान २ खेलबाट ४-४ अंक भएको छ। यस्तै, श्रीलंकाको दुई खेलमा ३ अंक रहेको छ। माल्दिभ्सको भने कुनै अंक भएको छैन।

Source : https://newsofnepal.com/2024/10/22/674605/