अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध : ढुक्क भएर नेपालमा लगानी गर्नुस

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

अमेरिकी उद्योग वाणिज्य सङ्घले वासिङटनमा आयोजना गरेको छलफलमा उहाँले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले लगानी गर्न आग्रह गर्नुभयो ।

नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन उहाँले अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।

Source : https://www.khasokhas.com/211048