दसैंको महिनामै बाहिरिए साढे ५३ हजार कामदार

काठमाडौं । बडादसैं महिनाका रूपमा रहेको असोजमा पनि वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या ५३ हजार ५ सय २५ रहेको छ । अघिल्लो महिना भदौमा ५७ हजार ४ सय ९६ जनाले मुलुक छाड्दा असोजमा त्यसभन्दा ४ हजार कमले मुलुक छाडेका छन् । असोजमा मुलुक छोड्ने पुरुषको संख्या ४७ हजार ४ सय ४३ र महिलाको संख्या ६ हजार ८२ जना रहेको छ ।

वैदेशिक रोजगारीमा जाने तराईवासी अधिक

वैदेशिक रोजगार विभागका अनुसार भदौमा ५० हजार ७ सय ७० पुरुष कामदार र ६ हजार ७ सय २३ महिला कामदार बिदेसिएका छन् ।श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना बिदेसिएको र अन्य मुलुक हुँदै र श्रम स्वीकृति नलिईकन जानेहरूको संख्या गणना गर्दा अझ बढ्ने बताइएको छ ।

असोजमा सबैभन्दा बढी कामदार संयुक्त अरब इमिरेट्स (यूएई)मा पुगेका छन् । सो महिनामा १५ हजार ५ सय ४१ पुरुष र २ हजार १ सय ८३ महिला गरी कुल १७ हजार ७ सय २४ जना नेपाली यूएई पुगेको तथ्यांक रहेको छ । भदौमा १८ हजारभन्दा बढी नेपाली कामदार यूएई पुगेका थिए ।

यसैगरी, १० हजार ४ सय ६८ जना साउदी अरब पुगेका छन् । सो देशमा १० हजार ४ सय २७ जना पुरुष कामदार र ४१ जना महिला कामदार पुगेका हुन् । यसैगरी, ९ हजार ७ सय ९८ जना कतार पुगेका छन् ।

असोज महिनामा कुबेतका लागि भने ३ हजार ८ सय सात जना कामदार बाहिरिएको तथ्यांक छ । पहिलो श्रम गन्तव्यका रूपमा रहेको मलेसियामा भने क्रमिक रूपमा कामदारको संख्या घट्दै गएर १ हजार ३ सय १४ जनामा सीमित भएको छ ।

असोजमा कुल ९८ मुलुकमा कामदार बाहिरिँदा जापानमा भने १ हजार २ सय ९९ जना नेपाली श्रम भिसामा गएका छन् ।

त्यस्तै, असोज महिनामा मात्र बहराइनमा ७ सय २६, क्रोएसियामा ७ सय ८३, साइप्रसमा ४ सय ८५ जना नेपाली कामदार पुगेका छन् ।

वैदेशिक रोजगारीमा पुगेकामध्ये उच्च सीप भएका दक्ष कामदारको संख्या ७५ जना मात्र रहेको छ । व्यावसायिक कामदार भने ३ सय ३० जना रहेका छन् । अर्धदक्ष कामदारको संख्या ५ हजार ७ सय ६३ रहेको छ । यसैगरी, सीप भएका कामदार भने ३३ हजार ९ सय १९ जना बिदेसिएको तथ्यांक रहेको छ ।

बिदेसिने अदक्ष कामदारको संख्या १३ हजार ४ सय ३८ रहेका छन् । जसमा महिलाको संख्या १ हजार ६ सय ५४ रहेको छ भने पुरुषको संख्या ११ हजार ७ सय ८४ जना छ ।

बिदेसिएका कामदारमध्ये आधा मात्रै म्यानपावर कम्पनीमार्फत गएको देखिएको छ । म्यानपावर कम्पनीमार्फत बाहिरिने पुरुष कामदारको संख्या २१ हजार ८ सय ९१ र महिलाको संख्या २ हजार ५ सय गरी जम्मा २४ हजार ३ सय ९१ जना रहेको छ । यसैगरी, व्यक्तिगत तवरबाट बाहिरिने कामदारको संख्या ८ हजार ९ सय ३८ रहेको छ । जसमा पुरुषको संख्या ७ हजार १ सय ८६ र महिलाको संख्या १ हजार ७ सय ५२ रहेको छ ।

यसैगरी, जीटुजी अर्थात् सरकारी तवरबाट बाहिरिने कामदारको संख्या ८ सय ४० रहेको छ । जसमा पुरुष ७ सय ५९ र महिला ८१ जना रहेका छन् ।

व्यक्तिगत तवरमा पुनः प्रवेश गर्ने पुरुष कामदार १७ हजार ६ सय ७ र महिला १ हजार ७ सय ४९ गरी कुल १९ हजार ३ सय ५६ जना रहेका छन् ।

बिदेसिने कामदारमध्ये सबैभन्दा बढी तराईवासी रहेका छन् । जसमध्ये सबैभन्दा बढी बाहिरिने जिल्लाका रूपमा धनुषाले अहिले पनि रेकर्ड कायम गरेको छ । धनुषाबाट २ हजार ९ सय १३ पुरुष र ३१ महिला गरी कुल २ हजार ९ सय ४४ जना बिदेसिएका छन् ।

यसैगरी, झापाबाट असोज महिनामा मात्र २ हजार ५ सय ४५ जना वैदेशिक रोजगारीका लागि गएका छन् । कपिलवस्तुबाट १ हजार २ सय ७५, महोत्तरीबाट २ हजार ८९, मोरङबाट २ हजार १ सय ८६, नवलपरासीबाट १ हजार ५ र सुनसरीबाट १ हजार ८ सय २८ जना बाहिरिएका छन् ।

स्याङ्जाबाट १ हजार ४७ र तनहुँबाट १ हजार १ सय ४१ जना बाहिरिएका छन् । मनाङबाट १४ जना बाहिरिँदा मुस्ताङबाट १७ जना असोज महिनामा बाहिरिएको तथ्यांक छ ।

The post दसैंको महिनामै बाहिरिए साढे ५३ हजार कामदार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102423/