फूलमाला बिक्रीमा कडाइ, ४४ मल र डिपार्टमेन्ट स्टोरबाट मात्र बेचिँदै

–भारतबाट फूल आउन नसकेपछि यो वर्ष भाउ बढ्ने
–गएको वर्ष नबिकेर हैरान, यो वर्ष माग धान्न समस्या

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले तिहारमा प्रयोग गरिने फूल र माला व्यापार गर्न ४४ स्थानमा व्यवस्था मिलाएको छ । कामपाले डिपार्टमेन्ट स्टोर, मल र व्यापारिक केन्द्रमा व्यवस्था मिलाएको हो। यसअघि बाटोबाटोमा जथाभावी व्यापार गर्ने प्रवृत्ति अन्त्य गर्न महानगरले ४४ स्थानमा व्यवस्था मिलाएको जनाएको छ।

कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले फूलमालाको अव्यवस्थित व्यापार अन्त्य गर्न निश्चित स्थान तोकेको बताउनुभयो। कामपा प्रहरीको संयोजनमा नेपाल फ्लोरिकल्चर एसोसियसन, व्यापारी, व्यापार संघ र संगठन, डिपार्टमेन्ट स्टोर, मललगायतका संस्थासहितको शुक्रवार बसेको बैठकले तिहारमा तोकिएको स्थानमा मात्र फूलमालाको व्यापार गर्न दिने सहमति भएको हो।


होलसेलरबाहेक साना व्यापारीले बिगमार्ट, सेल्सवेरी, भाटभटेनी, केके, मेट्रो मार्टलगायत ठूला मार्ट र मलमा व्यापार गर्ने व्यवस्था मिलाएको हो । प्रहरी प्रमुख पाण्डेले आज आइतबार ४४ स्थानको नाम सार्वजनिक हुने जानकारी दिनुभयो । ‘सार्वजनिक गरेको क्षेत्रमा मात्रै फूलमाला व्यापार गर्न पाइने व्यवस्था गर्नेछौं, त्यसको संयोजन एसोसिएसनले गर्नेछ’ –उहाँको भनाइ थियो।


एसोसियसनका अध्यक्ष मीनबहादुर तामाङले सूचना सार्वजनिक भएपछि फूल र माला बिक्री गर्नका लागि व्यवस्थापन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मल र मार्टको नाम सार्वजनिक गरेपछि कामपा प्रहरीसँग समन्वय गरी तोकेको स्थानमा व्यापार गर्ने व्यवस्था गर्नेछौं ।’

सहमति बाहिर गएर तोकिएको स्थान बाहिर व्यापार गरे कारबाही गर्ने महानगर प्रहरीको चेतावनी छ । यसैबीच यो वर्ष तिहारमा फूल अभाव हुने आँकलन गरिएको छ । भारतबाट फूल र माला आउने सम्भावना कम रहेको र नेपालमा गत वर्षको तुलनामा यो वर्ष फूलको खेती कम भएकाले मालाको भाउ बढ्ने सम्भावना रहेको छ ।

एसोसिएसनका अध्यक्ष लामाले यो वर्ष कम उत्पादन भएको र बाढीपहिरोले फूलखेती सखाप पारेका कारण मागअनुसार फूल उपलब्ध गराउन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘गतवर्ष मागभन्दा पनि फूलको उत्पादन बढी भएकाले कयौं किसानले फूलमाला बिक्री गर्न नसकेर लाखौं रुपियाँ घाटा भएको थियो ।’ योे वर्ष भारतबाट फूल आउन नसक्ने भएपछि मागअनुसार फूल धान्न नसकिने एसोसिएसनले जनाएको छ ।

नेपालमा यो वर्ष भारतबाट फूल आयात हुने सम्भावान कम छ । किनकि नेपालको प्लान्ट क्यारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूलमाला आयात गर्दा १६ प्रकारको रोग नभएको हुनुपर्ने प्रमाणित भएपछि मात्र ल्याउन पाउने व्यवस्था छ। भारत सरकारले १६ बुँदामा सहमति गरेर पठाउन चाहँदैन, नेपालले चेकजाँच नगरेको फूल ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ।

त्यसैकारण यो तिहारमा भारतबाट फूलमाला ल्याउने सम्भावना नरहेको एसोसियसनका अध्यक्ष लामाले बताउनुभयो। भारतबाट फूल आउन नसक्नु र उपत्यकाको माग धान्न समस्या पर्नुको कारण यो वर्ष फूल र मालाको भाउ आकासिने सम्भावना रहेको छ।

राजधानीमा छ्यापछ्याप्ती प्लास्टिकको फूलमाला

काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाए पनि काठमाडौंको विभिन्न स्थानमा छ्यापछ्याप्ती देखिएको छ । काठमाडौंको भित्री सहर, ताहाचल, कालिमाटी, असनलगायत अधिकांश स्थानमा प्लास्टिकको फूलमाला छ्यापछ्याप्ती देखिएको छ ।

कामपा प्रहरीले माला जफत गरे पनि जताततै बिक्री भइरहेको छ। कापमा प्रहरी प्रमुख राजुनाथ पाण्डेले फूलमाला कतै पनि बिक्री नभएको दाबी गर्नुभएको थियो । तर, अधिकांश क्षेत्रमा खुला रूपमा बिक्री भइरहेको थियो । कामपा वातावरणमा व्यवस्थापन विभागले वातावरणलाई नकारात्मक प्रभाव पार्ने भन्दै प्लास्टिकका फूलमालालगायतका सामग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको सूचना जारी गरेको थियो।

प्रतिबन्धित कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ। महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ।

Source : https://newsofnepal.com/2024/10/27/675452/