सिनवारको हत्यापछि गाजा युद्धविरामको वार्ता पुन सुरुगर्ने अमेरिका र कतारको घोषणा

अमेरिका र कतारले गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले मध्यस्थकर्ताहरूले नयाँ विकल्पहरू खोजिरहेको बताउनुभएको छ ।

अमेरिकी निर्वाचन हुन दुई साता बाँकी रहँदा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणयता ब्लिङ्केन यस क्षेत्रको ११औँ भ्रमणमा हुनुहुन्छ ।

इजरायलले गत साता लडाकू समूहका नेता याह्या सिनवारको हत्या गरेको थियो ।

ब्लिङ्केनले एक वर्षे गाजा युद्ध अन्त्य गर्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने उपायहरूबारे वार्ता पुनः सुरु गर्ने बताउनुभयो ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीसँगको वार्तापछि ब्लिङ्केनले दुई साझेदारले ‘इजरायल फिर्ता हुनसक्ने, हमास पुनर्गठन हुन नसक्ने र प्यालेस्टिनी जनताले आफ्नो जीवन र भविष्य पुनर्निर्माण गर्नसक्ने’ योजना खोजिरहेको बताउनुभयो ।

कतारी प्रधानमन्त्रीले इजरायली र अमेरिकी प्रतिनिधिमण्डलहरू युद्धविरामका लागि दोहामा भेट्ने जानकारी दिनुभयो । ब्लिङ्केनले वार्ताबारे थप विवरण दिन अस्वीकार गर्नुभयो ।

अमेरिकी अधिकारीहरूले सिनवारलाई गाजाबाट बन्धकहरूको रिहाइसँगै युद्धविराममा अमेरिका, कतार र इजिप्टले मध्यस्थता गरेको वार्तामा अडान लिने व्यक्तिको रूपमा वर्णन गरेका थिए ।

हमासका दुई स्रोतका अनुसार समूहले एक व्यक्तिगत नेताको सट्टा दोहा–आधारित नेतृत्व समिति नियुक्त गर्नेतर्फ झुकाव राखेको छ । अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले अमेरिका गाजाबारे ‘नयाँ ढाँचाहरू’ खोज्न तयार रहेको बताउनुभयो ।

उहाँले प्यालेस्टिनीहरूका लागि थप १३ करोड ५० लाख डलरको सहायताको घोषणा गर्नुभयो । यसले युद्ध सुरु भएयताको कूल रकम करिब १ अर्ब २० करोड डलर पु¥याएको छ ।

Source : https://www.khasokhas.com/211055